×

ओली भन्छन- लामिछानेलाई गृह मन्त्रालय दिन पूर्णपाठ किन चाहियो ? पुराण वाचन गर्ने हो र ?

images

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गृह मन्त्रालय पाउने बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार संचारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

यसअघि सत्ता गठबन्धनमा भएको सहमति अनुसार रास्वपाले सो मन्त्रालय पाउनुपर्ने उनले बताए । आफू र प्रधानमन्त्री प्रचण्डबीच यस विषयमा सहमति रहेको पनि उनले बताए । रास्वपाले गृह मन्त्रालय पाउँदा मन्त्री कसलाई बनाउने भन्ने विषय पनि सोही पार्टीको जिम्मामा रहने उनको भनाइ छ । 

प्रधानमन्त्री प्रचण्डले ‘अदालतको पूर्णपाठ आएपछि मात्रै गृह मन्त्रालयबारे निर्णय गर्ने भन्नू भएको छ नि’ भन्ने प्रश्नमा उनले यसमा पूर्णपाठ नचाहिने बताए । ‘पूर्णपाठ किन चाहियो ? पुराण वाचन गर्ने हो र ? उनले भने । साथै ओलीले वर्तमान सरकार संकटमा पर्छ जस्तो आफूलाई नलागेको बताएका छन् ।

राष्ट्रपति निर्वाचन र गृहमन्त्री चयनको विषयले सत्ता साझेदार दलहरुबीच खटपट परिरहेका बेला ओलीले यही कारण सरकार संकटमा नपर्ने बताएका हुन् । पत्रकारहरुको जिज्ञासामा उनले भने, ‘तपाईंहरुले भनेजस्तो सरकार संकटमा पर्छ जस्तो लाग्दैन ।’ आफूहरुको शासन प्रणालीमै अस्थिरता रहेको उनले बताए । त्यसैकारण प्रजातन्त्र प्राप्तिपछिका सरकार पूर्ण कार्यकाल नचलेको उनको भनाइ छ ।

बिहीबार १९ माघ २०७९ १२:४२ PM मा प्रकाशित

प्रतिक्रिया