काठमाडौं । मोरङको उमागौरी सहकारी ठगी प्रकरणमा पक्राउ परेका सहकारीका अध्यक्ष शम्भु रौनियार जेल चलान भएका छन् । आइतबार जिल्ला न्यायाधीश अरुणकुमार झाको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका हुन् ।
तीन दिनदेखिको बयान तथा थुनछेक बयानपछि रौनियारलाई कारागार चलान गर्ने फैसला भएको हो । सो सहकारी ठगीमा २६ जनालाई प्रतिवादी बनाईएको थियो ।
सत्तारुढ दल नेकपा एमालेका नेतासमेत रहेका उनी सहकारी समस्यामा परेपछि फरार भएका थिए । सोही सहकारी ठगीमा एमाले सांसद ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालासमेत मुछिएकी छन् । उनी १० लाख धरौटीमा रिहा भईसकेकी छन् ।
अध्यक्ष रौनियार र सांसद पत्नी कोइरालासहित यो मुद्दामा २६ जनालाई प्रतिवादी बनाएर मंसिर २७ गते सहकारीको रकम अपचलन मुद्दा दायर भएको थियो । २८ मंसिरमा जिल्ला अदालत मोरङले सहकारीका सञ्चालक तथा धनपालथानका पूर्ववडाध्यक्ष रोशन राजवंशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
२६ जनासँग २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो मागदाबी छ ।
प्रतिक्रिया