×

टोखामा सार्वजनिक जग्गामा बनाइएका संरचना हटाइँदै

images

काठमाडौँ, १९ माघ : काठमाडौँको टोखा नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना हटाउन सुरु गरेको छ । टोखा नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्नका वडा नं ४ का वडाअध्यक्ष धर्मेन्द्र श्रेष्ठको संयोजकत्वमा ‘सार्वजनिक जग्गा संरक्षण समिति’ निर्माण गरी सार्वजनिक जग्गा मिचेर अवैधरुपमा बनाइएका संरचना हटाउन सुरु गरेको हो । उक्त समितिले आज टोखा नगरपालिका–११ स्थित बानियाँटार पुलदेखि मनोरथ तीर्थसम्मका अवैध संरचना हटाएको छ ।

नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले विष्णुमति करिडोरमा आवतजावतका लागि सहज होस् भन्ने उद्देश्यले यस वरपर सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका संरचना हटाउन सुरु गरिएको जानकारी दिनुभयो । उहाँले नगरपालिकाभित्रका सबै सार्वजनिक जग्गाको खोजी गरिने बताउनुभयो ।

 

नगरपालिकाका उपप्रमुख मुरारी तामाङले सार्वजनिक सम्पत्तिको संरक्षणका लागि पालिकाले काम गरिरहेको बताउनुभयो । टोखामा एक हजारभन्दा बढी रोपनी सार्वजनिक जग्गा रहेको भन्दै यसलाई संरक्षणको योजना अनुसार काम थालिएको उहाँले उल्लेख गर्नुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले सूचना जारी गरेर सार्वजनिक जग्गामा बनेका अवैध संरचना हटाएको बताउनुभयो । “टोखाभित्र अतिक्रमण गरिएका जग्गा खाली गराउने काम तीव्र गतिमा भइरहेको छ”, उहाँले भन्नुभयो । नगरपालिकाले आजै टोखा–८ बानियाँटारस्थित फ्लोसेन्ट स्कुल आसपासमा अवैधरुपमा बनाइएका संरचना हटाउने जनाएको छ ।

शुक्रबार​ १९ माघ २०८० ०३:२१ PM मा प्रकाशित

प्रतिक्रिया