काठमाडौँ । जेन जी आन्दोलनको क्रममा भदौ २३ र २४ गते भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजन पुष्पकमल दाहाल प्रचणडलाई पनि पत्र लेखेको छ ।
आयोगले उनीहरूलाई आफ्नो धारणा राखिदिन भन्दै पत्र पठाएको हो । दुवै नेतासँग उक्त घटनासँग सम्बन्धित विवरण माग गरिएको आयोग स्रोतले जनाएको छ । आन्दोलनको क्रममा दुवै नेताहरूको घरमा आक्रमण र लिटपाट भएको थियो ।
कांग्रेस सभापति देउवा र उनकी पत्नी आरजुमाथि कुटपिट समेत भएको थियो । भदौ २४ गतेको आन्दोलनमा देशभरि विभिन्न स्थानमा आगजनी र तोडफोड भएको थियो। देउवा आफ्नै बूढानिलकण्ठ निवासमा थिए, जहाँ प्रदर्शनकारीले प्रहरीको सुरक्षा छिचोल्दै प्रवेश गरे र देउवा तथा उनकी श्रीमती आरजु राणालाई पनि कुटपिट गरे।
पछि नेपाली सेनाले उनीहरूलाई उद्धार गरेको थियो। प्रचण्ड आन्दोलनका बेला सिंहदरबारभित्र रहेका थिए र उनलाई पनि सेनाले सुरक्षित निकालेको थियो। दुवै नेताको घरमा आगजनी र तोडफोड भएको थियो।
आयोगले अब तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको बयान लिन तयारी गरिरहेको छ। आयोगका पदाधिकारी स्वयं उपस्थित भएर बयान लिनसक्ने स्रोतले बताए, तर कहिले बयान लिने भन्ने कुरा यकिन भएको छैन। यसअघि आयोगले एक सय ५० भन्दा बढी व्यक्तिसँग बयान र घटना विवरण संकलन गरिसकेको छ।
केही दिनअघि मात्रै तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान लिइएको थियो। त्यसअघि आइजिपी दानबहादुर कार्की, पूर्वआइजिपी चन्द्रकुबेर खापुङ, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा, र सशस्त्र प्रहरी बलका आइजिपी राजु अर्याल लगायतको पनि बयान लिइसकिएको छ।
प्रतिक्रिया