×

तिथिमा विश्वास गर्ने वास्तविक तरिका

images

काठमाडौं । आज मंसिर १२ गते मंगलवार नोभेम्वर २८ तारिख हो । हिजो मंसिर ११ गते सोमवार र नोभेम्वर २७ तारिख संझेर पनि आजको दिन र तारिख क्यालेण्डर पात्रो नहेरीकनै भन्न सक्छौं । तव तिथि हेर्न भने प्रायःले पात्रो नै पल्टाउन थाली हाल्छ । तर तिथि आजको के हो भन्ने सम्वन्धमा मान्छेको बुझाइ भने थरिथरि देखिन्छ । 

पंचांग पात्रोमा आज १२ गतेको सूर्योदय विहान ६ः३६ भनेर दिइएको छ । मतलव ६ः३५ सम्म सोमवार ११ गते नै कायम रहे । तव सूर्योदयले गते वार तिथि मात्र होइन नक्षत्र, योग ,करण, योगा सबै बोकेर आएको कुरा पात्रोले बताउंछ । तारिख चाही हाम्रो पात्रो हेरेर भन्ने होइन त्यो इंगलिस क्यालेण्डर हेरेर रातको १२ः०० उप्रान्त फेर्ने कुरा संझनु पर्दछ ।

यहाँ आएर तिथिमा विश्वास नगर्नेहरु त कोही पनि  छैन , सवैले विश्वास गर्दै आए । तर कसैको भनाइ अनुसार आज १२ गते  १३ः५४सम्म मंसिर शुक्ल प्रतिपदा त्यस उप्रान्त द्वितीया भनेर बुझ्छ भने हामी बुझ्छौ भोलिको सूर्योदय ६ः३६ नभए सम्म प्रतिपदा नै हुन्छ । यसमा वास्तविकता के हो कुरा नचपाईकन भन्नु होला भनियो भनेर ज्योतिषहरु स्वयंले नै भन्ने गर्दछ कि यदि प्रतिपदाको दिनमा गर्नुपर्ने अनुष्ठानका कार्य व्रत उपासना, पितृश्राद्ध जस्ता कार्य गर्नृुपर्ने भएको अवस्थामा १३ः५४ उप्रान्त द्वितीया तिथि लाग्ने हुनाले १३ः५४ अगावै गर्नु पर्दछ भनेर सिफारिस गर्छ । यसो हो भने तापनि द्वितीया तिथिमा गरिने काम १३ः५४ उप्रान्त गर भन्दैन भन्यो भने त्यो गलत भनेर बुझनु पर्दछ  । बरु भोलिपल्ट १३ गते १३ः५५ भन्दा अगावै द्वितीया तिथिको कार्य गर्न सिफारिस गर्छ । यदि यो कुरा होइन भनेर कुरा चपाएर यसको विपरीत गर्छन् भने त्यसको कुनै उपचार छैन । हाम्रो हरेक चाडपर्वहरुमा पनि यही तरिका लागु हुन्छ । ठीक दुरुस्त भन्नु पर्दा यहाँ कुरा चपाउनेहरुको कुनै उपचार हुंदैन र म मान्दै मान्दिन भन्नेहरुको लागि पनि कुनै उपचार छैन ।  

अव अस्तिको तिहारलाई तिथिमा विश्वास गर्नेहरुले के बुझे र कुन बाटो लिए त्यो कुरा स्मरण गरौं । सूर्य पंचांग पल्टाएर हेर्ने हो भने कार्तिक २५ गते कागतिहार  २६ गते कुकुर तिहार,२७ गते गाइतिहार २८ गते गोरुतिहार र २९ गते भाइतिहार भनेर दिइएको छ । यी पाँचदिनलाई यमपंचक भनेर पनि मानेको छ । यमपंचकको पाँचदिन कायम नै गरीकन साँस्कृतिक परम्परा अनुरुप गाइतिहार कै दिन लक्ष्मीपूजा गर्नु गराउनु पर्नेमा तिथि विश्वासमा फरक परेर बुझाइ र बाटो पनि फरक पर्न गएको प्रष्ट देखियो ।

कार्तिक २५ गते १३ वजेर १५ मिनेट गएपछि त्रयोदशी समाप्त भएर चतुर्दशी लागेकोले १३ः१६ देखि कुकुर पूजा गर्न सकिन्छ भनिएन ।  कार्तिक २६ गते चाहीं १४ वजेर १४ मिनेट गएपछि चतुर्दशी समाप्त भइ औंशी लाग्न थाल्यो भनियो । २५ गते १३ः१५ उप्रान्त ककुरपूजा गर्न सिफारिस नगर्ने तर २६ गते भने १४ः१४ उप्रान्त औंशी लाग्ने भयो भन्दै लक्ष्मीपूजा गर्न सिफारिस गर्ने यो सूर्यपंचागको सिद्धान्त संगति मिल्यो भन्न सकिन्न र तिथिमा विश्वास गर्ने विश्वासकर्ताहरुले पनि यसलाई तिथिमा विश्वास गरेको भन्न खोज्छ भने त्यो पनि संगति मिलेको भन्न सकिन्न ।

माथि चर्चा गरेको सिद्धान्त अनुसार भन्नु पर्दा त्रयोदशीमा गरिने कुनै अनुष्ठानका काम वा व्रत उपासना वा पितृ कार्य गर्दा १३ः१५ उप्रान्त चतुर्दशी लाग्ने भएकोले त्यो समय अगावै गर्नु पर्दछ भन्ने हो र चतुर्दशीको कार्य गर्नु हुन्छ भनी सिफारिस गरिंदैन । त्यस्तै २६ गतेको दिन १४ः१४ सम्म चतुर्दशी भएकोले त्यो कार्य १४ः१४ भित्र गर्नु भनेर सिफारिस गरिन्छ तर १४ः१४ उप्रान्त औंशीको कार्य गर्न हुन्छ भनेर सिफारिस गर्न हुंदैन । २७ गतेको दिन १४ः४१ को समयसम्म अनुष्ठानको काम वा व्रत उपासना वा पितृकार्य गर्नु तर त्यस उप्रान्त प्रतिपदाको काम गर्नु भनेर सिफारिस गर्नु हुंदैन । लक्ष्मीपूजा म्हपूजा र किजापूजा भन्ने विशुद्ध चाडपर्व मात्र हो यसलाई अनुष्ठानको कार्य,व्रत उपासना वा पितृकार्यसंग तुलना गर्नु हुंदैन । चाडपर्व भनेको विहान सूर्य उदय देखि सूर्य अस्ताइ सकेर पनि मध्यरात सम्म पनि मनाउन हुन्छ र मनाइ आएको पनि छ र मनाउंदै जाने कुरामा कुनै बाधा अड्चन रोकावट कहींबाट पनि छैन । 

त्यसैले २७ गते कार्तिक कृष्णऔंशी ,२८ गते कार्तिक शुक्लप्रतिपदा र २९ गते कार्तिक शुक्ल द्वितीया भएकोले लक्ष्मीपूजा औंशीको दिन ,म्हपूजा प्रतिपदाकोदिन र किजापूजा द्वितीयाको दिन बिहानदेखि मध्यरातसम्म जुनसुकैवेला गर्न हुने त्यसमा कुनै बाधा अड्चन नै छैन । तर तिथिमा विश्वासकर्ता हुं भन्नेहरु धेरै नै विद्वान भएको कारणले  २६ गते १४ः१४ उप्रान्त औंशी लाग्ने भएकोले लक्ष्मीपूजा भनेको राती गरिने सुखरात्री भनेको छ भनी त्यही दिन लक्ष्मीपूजागर्नु अतिउत्तम भनी त्यो बाटो समायो  । वास्तवमा यो सिद्धान्त अनुकूल हो पद्धति भन्न मिल्दैन । 

तिथिमा नितान्त विश्वास गर्छु भन्नेहरुले जुन समयमा तिथि शुरुहुन्छ त्यही वेला देखिको समयलाई तिथि मान्नु पर्छ र व्यवहारमा पनि त्यही हुनुपर्छ भन्ने गरियो । जुन पर्व जुन तिथिमा परेको जुनवेलामा गर्ने पर्व हो त्यही वेलामा गर्नु उचित ठान्छु भन्छ र नत्र यति समयदेखि यो तिथि यो समयसम्म यो तिथि त्यहाँ उप्रान्त यो तिथि किन भनियो ? भन्ने सवाल र तर्क पनि उठाएको देखियो । उहाँहरुको यो सिद्धान्त वास्तविक होइन यदि हो  भइ दिएको भए यो किन गरिंदैन त ? भन्ने  प्रतिप्रश्न उठाउन सकिन्छ ।

जस्तो मान्छेहरुको जन्म कोही बिहान,कोही दिउंसो कोही बेलुका कोही त मध्यरातमा पनि भइरहेका हुन्छन् उनीहरु जन्म दिन मनाउंदा जुनजुन वेलामा जन्मेको हो त्यहीत्यही वेलामा जन्मदिनको पूजा गर्नु पर्ने हो गरिंदैन किन ? सबैको जन्मदिन बिहानै मनाउंछ अझ बिहान देखि अबेला आधारातसम्म हर्षबढाई गरिरहेका हुन्छन् । खुद तिथिमा नितान्त विश्वास गर्दछु भन्नेहरु नै त्यही गरिरहेका छन् । 
त्यस्तै गरि मान्छेको मरण पनि कोही बिहान, कोही दिउंसो कोही बेलुका त कोही मध्यरातमा भइरहेका हुन्छन् ।

उनीहरुको श्राद्ध पनि जुनजुनवेला मरेको हो त्यहीत्यहीवेला गरेको हुनु पर्ने । यदि साँच्चैको तिथिमा विश्वास गर्ने नितान्त विश्वासकर्ता हो भने उनीहरुले आफना पितृहरुको श्राद्ध गर्दा जुनजुन समयमा मृत्यु भएको हो त्यही समयमा नगरी बिहानै गरिरहेका हुन्छन् । यदि व्यवहारमा पनि जुनजुनवेला घटना घटेको हो त्यही गर्नु पर्ने हो भने त्यो कतै पनि देखिएको छैन । भनाइको तात्पर्य स्पष्टै छ कि दिन भनेको पनि सूर्योदय संगै उठेको मान्दोरहेछ भनेतिथि पनि सूर्योदयसंगै उठेको मान्दोरहेछ ।  
वास्तवमा कुरा चपाउछन् भने त्यसको कुनै उपचार छैन । फेरि चाडपर्व आफनो इच्छा अनुसार गर्ने हो । आफुलाई जे अनुकूल छ त्यही गर्ने भन्छन् भने त्यसको पनि कुनै उपचार हुंदैन ।  
यदि शास्त्रोक्त विधि मुताविक चाडपर्व मनाउने हो भने शास्त्रले बताए अनुरुप गर्नु उचित मात्र होइन अत्युत्तम नै मान्नु पर्दछ । 


जस्तो आज मंसिर १२ गते को दिन सूर्यपंचाग अनुसार बिहान ६ः३६ वजे सूर्योदय भए संगै तिथि मार्गशीर्ष कृष्णपक्षको प्रतिपदा लाग्यो त्यसकोसंगसंगै वार मंगलवार, नक्षत्र रोहिणी,योगसिद्ध करणतैतिल,योगामातड्ड लाग्यो भनेर हामी त्यसरी बुझ्छौं । यही प्रतिपदाको दिनमा कसैले अनुष्ठान वा पितृको कार्य गर्नु छ भने १३ः५४ सम्म प्रतिपदा रहने भएकोले त्यो समय वेलाभित्र सकाउनु भनेको हो भनेर पनि हामी त्यसरी नै बुझछौं । तर हामी १३ः५४ उप्रान्त द्वितीया लाग्छ भन्दैमा १३ः५४ उप्रान्त द्वितीयाको कर्म गर्दा हुन्छ कदापि भन्दैनौं । बरु भोलि १३ः५५ भित्र द्वितीयाको कर्म गर्नु होला भन्नेछौं । वास्तवमा तिथिको सिद्धान्त पनि यही हो ।

तिथिको बुझाइ
मान्छेहरु भन्ने गर्छन् कि नत्र यति समयदेखि यो तिथि यो समयसम्म यो तिथि त्यहाँ उप्रान्त यो तिथि किन भनियो त? वास्तवमा पंचांग पात्रोले यति समयदेखि अर्को तिथिमा प्रवेश गर्ने भएकोले त्यो समय पार नगर्नु मात्र भनेको होइन । सवैको विचार एउटै हुंदैन । 

पंचांग निर्णायक समितिकै मान्छेहरुले पनि एकातिर यमपंचक भनेको पाचदिन नै हुनुपर्छ भनेर पनि देखाइरहेका हुन्छन् भने अर्को तिर  कुकुरतिहार र लक्ष्मीपूजा एकै दिन पारेर चार दिनमा यमपंचक छोट्याइ रहेका पनि हुन्छन् । सिर्फ नरक चतुर्दशीको दिन दिउंसोबाट औंशी लाग्ने देखाएर बिहान कार्तिक कृष्ण चतुर्दशी र दिउंसोबाट औंशी लाग्ने देखाएर बेलुका लक्ष्मीपुजा गराइ आएको छ । अरु कुनै पनि तिथि सूर्योदय संगै शुरु भै अर्को सूर्योदय सम्म रहने सिद्धान्त नै समाएको पाइन्छ । विश्वास नलागे जुनसुकै ज्योतिष कहाँ गइ जन्मकुण्डली जन्म पत्रिका  बनाउन गए पुग्छ । लामो उदाहरण दिइरहनै पर्दैन अस्ति कार्तिक २६ गते दिउंसो अपरान्ह जन्मेको बच्चाको चिना बनाउन दिइयो भने लक्ष्मीपूजा औंशीको दिन भनिंदैन त्यो दिन नरक चतुर्दशी हो अर्को सूर्योदय नहुन्जेल औंशी भन्न मिल्दैन भनेर त्यही अनुसारको चिना बनाइ दिन्छ । तिथिमा नितान्त विश्वास गर्नेहरुले त्यो अवस्थामा १४ः१४ उप्रान्त औशी लागेको मानेर लक्ष्मीपूजाकोदिन भनेर चिना किन  नबनाएको भनेर प्रश्न गर्नु पर्ने हुन्छ तर प्रश्न गर्दैन । त्यही भएर लक्ष्मीपूजा एउटालाई मात्र लक्षित गर्ने सिद्धान्त पनि सिद्धान्त भन्न मिल्छ र ? त्यही भएर नत्र यति समयदेखि यो तिथि यो समयसम्म यो तिथि त्यहाँ उप्रान्त यो तिथि किन भनियो त? भनेर तर्क गर्नु बिल्कूल वाहियात हो भन्न सकिन्छ । 


अब फर्केर गणेश चतुर्थी र गाइजात्रा 
तिथिमा विश्वास त सवैले गर्दै आएका छन् ।  तर तिथिमा नितान्त विश्वास गर्नेहरुको बुझाइ भने अर्कै छ । सूर्य पंचांग पल्टाउंदा अस्ति असोज १ गते सोमवार तृतीया भनेर दिइएको छ ।  साथमा १०ः२३ सम्म मात्र तृतीया त्यस उप्रान्त चतुर्थी लाग्ने भएको हुनाले चथाको चन्द्रमा पुजा बेलुका गरिने भएको भनेर १ गते नै चथा मनाएकाहरु पनि देखिए । वास्तवमा त्यो दिन सूर्य उदय ५ः५० भनेर दिइएको छ । हामी पनि तिथिमा नै विश्वास गर्दछौ र पात्रोले पनि भोलिपल्टको ५ः५० सम्म तृतीया र त्यस उप्रान्त चतुर्थी लाग्ने भएकोले असोज २ गते मंगलवार मंगलचौथी गरी त्यही  दिन चथा चाड मनायौं । असोज २ गते कुनै अनुष्ठानको कर्म वा पितृको कार्य भएमा १०ः४९ सम्म मात्र चतुर्थी भएकोले चतुर्थीको ती कर्म त्यो समय भित्र सकाउनु होला भन्दछौं भने चाडपर्वको हकमा बिहान सूर्य उदय ५ः५१ भएकोले भोलीपल्टको सूर्यउदय ५ः५१ अघिसम्म चतुर्थी नै कायम हुन्छ र ती बीचमा  जन्मेका बच्चाकोचिना बनाउन समेत चतुर्थी नै कायम हुने हुन्छ । तिथिमा नितान्त विश्वास गर्ने ज्योतिषले १०ः४९ उप्रान्त पंचमी लाग्छ भनी त्यसरी चिना बनाउंदैन । अतः तिथिको सिद्धान्त भन्नाले चिना बनाउन एउटा र चाड मनाउन एउटा गर्ने विधि कुनै शास्त्र , निर्णयसिन्धु, धर्मसिन्धुले पनि भनेको छैन । 

त्यस्तै गरी  सूर्यपंचांगमा गत भदौ १४ गते बिहीवार जनैपूर्णिमा र गाइजात्रा एकै दिन जनाइएको छ । किनकि भाद्रकृष्ण प्रतिपदाको तिथि टूट देखाइएको छ । यसरी टूट हुनआएको अवस्थामा बाहेक अरुबेला प्रतिपदाको काम पूर्णिमा कै दिनमा  गरिंदैन । सूर्य उदयको हकमा उक्त दिन बिहान ५ः४२ दिइएको छ र घडिपला ५।१८ समय ७ः४९ जनाइएको छ । ऋषितर्पणीको व्रत अनुष्ठान ५ः४२ देखि ७ः४९ भित्र गर्न सकाउने संभव नभएकोले  अघिल्लोदिन भदौ १३ गते १०ः१७ देखि २१ः३ वजे पूर्णिमाव्रत उल्लेख गरिएको छ । पूर्णिमाको दिन क्वाति खान साइत घडिपला समय हेर्नु नपर्ने भएकोले भदौ १४ गते कै दिन पूर्णिमा र गाइजात्रा पनि त्यही दिन मनाइयो । यही कुरा उपत्यकाका तीन शहरका विद्वानहरुले फरकफरक अर्थ लगाएर फरकफरक ढंगले मनाएको देखियो । व्रत उपासनाको कार्य २ घण्टा ७ मिनेटमा सकाउन संभव नभएकोले मात्र अघिल्लो दिन गर्नुपरेको हो । यसरी तिथि टूट हुंदाको अपवाद बाहेक चाडपर्व मनाउन घडिपला समय हेर्ने गरिंदैन । यसमा थरिथरिको मत विकास हुनु दूर्भाग्य सिवाय अरु भन्न मिल्दैन ।

निष्कर्ष
यां तिथि समनुप्राप्य उदयं याति भास्करः ।
सा तिथिःसकला ज्ञेया स्नान दानादि कर्मसु ।।

यसको अर्थ
जुन तिथि लिएर  सूर्य उदय हुन्छ त्यही तिथि एक दिन को लागि हुन्छ त्यही दिन वा तिथिमा स्नान दानादि कर्म गर्न हुन्छ ।
यो शास्त्र वचन हो । यो शास्त्र वचनले पनि एक सूर्यउदय देखि अर्को सूर्यउदय नभएसम्म एक अहोरात्रलाई एउटै तिथि र एउटै दिन मान्ने गरिन्छ भनिएको छ । यस्तै गरि पंचांग पात्रोहरुले पनि आज मंसिर १२गते सूर्यउदय ६ः३६ उपरान्त अर्को सूर्य उदय ६ः३६ अघिसम्म प्रतिपदा नै मानेको स्पष्ट छ । तिथिको सिद्धान्त भनेको सँधैभरि एकै किसिमको हुनुपर्छ । तिथिमा विश्वास गर्ने मात्र होइन नितान्त विश्वास गर्नेहरुले केवल लक्ष्मीपूजा एउटालाई मात्र लक्ष गरेर हुंदैन । नरक चतुर्दशीको दिनमा लक्ष्मीपूजा गर्नको लागि मात्र छुट्टै तिथि सिद्धान्त बनेको छैन ।

मान्छेहरुले भन्ने गरेका छन्कि तिथिको गडवडीले यमपंचक भित्र कुनदिन के मनाउने विवाद हुने गरेको भन्ने गर्दै आए वास्तवमा यो पनि गलत बुझाइ हो । फेरि कोही भन्छन् नेवार समाजको विशेषता भनेकै विविधता भएको समाज भएकोले कुनै चाड कही आज कहीं भोलिपल्ट हुने गरेको भन्दै आए वास्तवमा यो पनि गलत बुझाइ नै हो । वास्तवमा तिथि गडबड भएको होइन मान्छेको बुझाइमा मात्र गडबडी भएको हो ।

कार्तिक २५ गतकोदिन समयले त्रयोदशी पनि छ चतुर्दशी पनि छ तर उक्त दिन चतुर्दशीको काम गर्न सिफारिस गरिएन । तर कार्तिक २६ गते भने चतुर्दशी पनि छ औंशी पनि छ भनेर बिहान चतुर्दशीको काम गराउने र बेलुका औंशीको काम गराउने जुन गरियो । यो कुरा शास्त्र वचन बिपरीतको काम हो र पंचांगले गर्ने मार्गनिर्देशन को भावना विपरीत पनि हो साथै पंचांगको मर्मले पनि यो भनेको बिल्कूल होइन । 

शास्त्र र पद्धतिको विपरीत बाटो पहिल्याउने र दुनियाँलाई दिग्भ्रमित पार्ने पनि उनै फेरि उसैले आफुनितान्त तिथिमा विश्वास गर्ने तिथिका पक्षपाती हुं भन्नु हास्यास्पद सिवाय केही  होइन । अझ कोहीकोही त यस्ता विद्वान पनि देखा परे कि ३९० दिन भएको वर्ष हुन्छ भनेतापनि  शास्त्र र पंचांग पात्रोमा ३९०दिन भएको उदाहरण एउटा पनि देखाउन सकेको होइन । उनीहरु विद्वानको खोल ओढेको छ अवश्य हो तर यसो हो भन्दैमा शास्त्र र पंचांग पद्धतिमा नै नभएको कुरा ल्याएर दुनियाँलाई दिग्भ्रमित पार्नु त भएन नि । त्यसैले कागको पछि दौडने होइन कान छाम्ने हो भन्ने उखानलाई राम्ररी हृदयंगम गरौं ।

श्यामसुन्दर राजवंशी
संस्कृतिविद्

शुक्रबार​ १५ मंसिर २०८० ०१:५२ PM मा प्रकाशित

प्रतिक्रिया