×

भोटेकोसी बाढी अपडेट: ९८७ जनाको मृत्यु, उद्धार कार्य तीव्र पारिँदै

images

काठमाडौं। रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र प्रहरी टोलीको अद्यावधिक विवरणअनुसार बाढीमा परी ३ हजार ९१६ जना अझै सम्पर्कविहीन रहेका छन्।   

नदी तटिय क्षेत्रहरू रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन तथा नवलपरासी लगायतका जिल्लाहरूमा लगातार शवहरू फेला परिरहेका छन्। फेला परेका धेरैजसो शवहरूको पहिचान खुल्न बाँकी रहेकाले पहिचानका लागि विभिन्न अस्पतालहरूमा राखिनुका साथै कानुनी प्रक्रिया पूरा गरी व्यवस्थापन थालिएको छ।   

सम्पर्कविहीन रहेका स्थानीय, विभिन्न जलविद्युत् आयोजनामा कार्यरत श्रमिक, सुरक्षाकर्मी तथा विदेशी पर्यटकहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ। उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोलीहरू स्थल तथा हवाई माध्यमबाट निरन्तर खटिरहेका छन्।

हालसम्म हजारौँ बाढी प्रभावितहरूको सकुशल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ भने घाइतेहरूको काठमाडौं र स्थानीय स्वास्थ्य संस्थाहरूमा उपचार भइरहेको छ। प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउने र अवरुद्ध सञ्चार तथा यातायात सेवा पुनः सञ्चालन गर्ने कार्य जारी छ।

मङ्गलबार १६ भदौ २०८३ ११:३६ AM मा प्रकाशित

प्रतिक्रिया