×

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) अवार्डसहित तीन विधामा सम्मानित

images

काठमाडौँ । नेपाली बैंकिङ क्षेत्रमा अग्रणी स्थानमा रहँदै आएको नबिल बैंक लिमिटेड वित्तीय पारदर्शिता र सुशासनमा पुनः उत्कृष्ट ठहरिएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा वार्षिक रूपमा प्रदान गरिने प्रतिष्ठित ‘बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट (BPA) अवार्ड–२०२५’ अन्तर्गत नबिल बैंकले निजी क्षेत्रको बैंकतर्फ लगातार तेस्रो पटक ‘गोल्ड अवार्ड’ प्राप्त गर्न सफल भएको हो ।

यसका साथै, आइक्यानको इतिहासमै पहिलो पटक सुरु गरिएका अन्य दुई विधामा समेत बैंकले सफलता हात पारेको छ । नबिल बैंकले यस वर्षदेखि थपिएका ‘कर्पोरेट गभर्नेन्स डिस्क्लोजर अवार्ड’ (सुशासन प्रकटीकरण पुरस्कार) र ‘सस्टेनेबिलिटी रिपोर्टिङ अवार्ड’ (दिगोपना प्रतिवेदन पुरस्कार) दुवैतर्फ ‘सर्टिफिकेट अफ मेरिट’ हासिल गरेको हो । योसँगै नबिल बैंक एकैपटक तीनवटा विधामा सम्मानित भएको हो ।

सीईओ मनोज ज्ञवाली र वित्त प्रमुख पौडेलले बुझे अवार्ड

काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच आइक्यानका अध्यक्ष सीए नील बहादुर सारु मगरले नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (CEO) मनोजकुमार ज्ञवाली र वित्त प्रमुख (CFO) सन्दीप बाबु पौडेललाई संयुक्त रूपमा यी अवार्डहरू हस्तान्तरण गरे ।

आइक्यानले आर्थिक वर्ष २०२४/२५ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा उत्कृष्ट संस्थाहरूको छनोट गरेको हो । अवार्ड छनोटका लागि संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता, संस्थागत सुशासन, र दिगोपना जस्ता कडा मापदण्डहरू तय गरिएका थिए, जसमा नबिल बैंक सबैभन्दा अब्बल ठहरिएको हो । बैंकले यसअघि सन् २०२३ र २०२४ मा पनि लगातार गोल्ड अवार्ड जितेको थियो ।

अन्तर्राष्ट्रिय अवार्डका लागि मनोनयन

आइक्यानका अनुसार नेपालमा उत्कृष्ट ठहरिएको नबिल बैंकको यो वार्षिक प्रतिवेदन अब दक्षिण एसियाली स्तरमा प्रतिस्पर्धा गर्नेछ । यो प्रतिवेदन दक्षिण एसियाली एकाउन्टेन्ट्स महासंघ (SAFA) द्वारा आयोजना हुने 'साफा बीपीए अवार्ड' का लागिसमेत नेपालको तर्फबाट मनोनीत भएको आयोजक संस्थाले जनाएको छ ।

चार दशकदेखि बलियो व्यावसायिक यात्रा

विगत ४० वर्ष (चार दशक) देखि नेपाली ग्राहकहरूलाई उच्चस्तरीय र भरपर्दो बैंकिङ सेवा प्रदान गर्दै आएको नबिल बैंकले पछिल्लो समय डिजिटल बैंकिङमा समेत ठूलो फड्को मारेको छ । बैंकले ग्राहकको सुविधाका लागि अत्याधुनिक डिजिटल प्लेटफर्म ‘एनबैंक’ (nBank) सञ्चालनमा ल्याएको छ भने दिगो बैंकिङ (Sustainable Banking) को अवधारणालाई समेत आत्मसात् गर्दै आएको छ ।

हाल नबिल बैंकले देशभर २६६ शाखा सञ्जाल र ३१८ वटा एटीएम मार्फत २५ लाखभन्दा बढी ग्राहकहरूलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

बुधबार १७ असार २०८३ ११:३७ AM मा प्रकाशित

प्रतिक्रिया