×

आईसिसी विश्वकप लिग-२-नेपालद्वारा युएईमाथि ६ रनको रोमाञ्चक जित दर्ता

images

काठमाडौं। आईसिसी विश्वकप लिग-२ अन्तर्गत शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा नेपालले युएईमाथि ६ रनको रोमाञ्चक जित दर्ता गरेको छ।

वर्षाले प्रभावित भएपछि डकवर्थ लुइस पद्धति (डीएलएस) का आधारमा तय गरिएको नयाँ लक्ष्य भेट्टाउन नसक्दा युएई नेपालसँग पराजित भएको हो। यो जितसँगै नेपालले लिग-२ को अंक तालिकामा महत्वपूर्ण अंक थपेको छ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २८९ रनको बलियो योगफल तयार पारेको थियो। नेपालको इनिङ्सलाई मध्यम क्रमका ब्याटर दीपेन्द्र सिंह ऐरीले सम्हाल्दै सानदार शतकीय योगदान दिए।

उनले मात्र ९४ बलको सामना गर्दै १३ चौका र १ छक्काको मद्दतमा अविजित १०० रन बनाए। त्यस्तै, ओपनिङमा आएका विनोद भण्डारीले ५६ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान रोहितकुमार पौडेल ३९ रनमा पेभिलियन फर्किए।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका युवा ब्याटर अर्जुन कुमाल भने व्यक्तिगत ११ रनमा आउट भए। युएईका लागि बलिङतर्फ अजय कुमार र जुनेदले समान २-२ विकेट लिएका थिए।

नेपालले दिएको २९० रनको लक्ष्य पछ्याउने क्रममा युएईको ब्याटिङ चलिरहँदा वर्षाले खेल अवरुद्ध भएपछि युएईले ३८ ओभरमा २५५ रनको परिमार्जित लक्ष्य पाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको युएईले निर्धारित ३८ ओभरमा ८ विकेट गुमाएर २४८ रन मात्र बनाउन सक्यो।

युएईका लागि मोहम्मद शहजादले ७२ बलमा ६५ रन बनाउँदै जितको आशा जगाए पनि सफल हुन सकेनन्। खुजैमा तनवीरले ४९ रन र हरप्रीत सिंहले ४१ रनको योगदान दिए पनि अन्य ब्याटर चल्न नसक्दा युएई लक्ष्यभन्दा ६ रनले पछि परेको हो।

नेपाललाई जित दिलाउन बलिङतर्फ सन्दीप लामिछानेले महत्वपूर्ण ३ विकेट लिए। त्यसैगरी सोमपाल कामी र नन्दन यादवले २–२ विकेट लिँदै युएईको मध्यम क्रमलाई दबाबमा राखे।

उत्कृष्ट ब्याटिङ र कसिलो बलिङका कारण नेपालले घरेलु दर्शकमाझ महत्वपूर्ण जित हात पारेको छ। नेपालले अब आफ्नो अर्को खेल आगामी मंगलबार ओमानसँग खेल्ने तालिका रहेको छ।

शुक्रबार​ १८ बैशाख २०८३ ०७:३१ PM मा प्रकाशित

प्रतिक्रिया