काठमाडौं । रास्वपा कर्णाली प्रदेशकी संस्थापक महामन्त्री चन्द्रा बिक र सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेत कांग्रेस प्रवेश गरेका छन् । उनीहरूलाई आइतबार कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सुर्खेतमा आयोजित कार्यक्रममा स्वागत गरेका छन् । उनीहरूसँगै रास्वपा छाडेका दर्जनौँ नेता कार्यकर्ता प्रवेश गरेको कांग्रेसले दाबी गरेको छ ।
भ्रष्टाचार अन्त्य र सुशासनको नारा लगाउने रास्वपा भ्रष्टाचारमा लिप्त भएकोले पार्टी छोडेको उनीहरूको आरोप छ । कांग्रेस प्रवेश गर्दै संस्थापक महामन्त्री विकले भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्न आएको पार्टी उल्टै आन्तरिक रूपमा अपारदर्शी हुन थालेपछि रास्वपा परित्याग गरेको बत्ताइन् । ‘जान्नेलाई छान्नेको नारा दिएर अलोकतान्त्रिक गतिविधि त्यो पार्टीमा बढेका छन्,’ उनले भनिन्, ‘उपपार्टीभित्रको आर्थिक अपारदर्शिता चुलिएको छ ।’
निर्वाचनका लागि समानुपातिक उम्मेदवारबाट ५० हजार रुपैयाँ र प्रत्यक्षतर्फका उम्मेदवारबाट २५ हजार उठाएर त्यसको लेखाजोखा नभएको तथा प्राइमरी ईलेक्सनका नाममा पहिलो नम्बरमा भएकालाई पाखा लगाइएको उनको आरोप छ । मुलुकको राजनीतिक स्थायित्व, लोकतान्त्रिक मूल्यमान्यता र विकासको एजेन्डाअघि बढाउन रास्वपा असक्षम रहेकाले बेलैमा सचेत हुन आग्रह गरे ।
प्रतिक्रिया