×

हुम्लामा हिमपात, किसान खुसी

images


सिमकोट (हुम्ला), १८ माघ : हिमाली जिल्ला हुम्लामा लामो समयपछि हिमपात हुँदा किसान खुसी भएका छन् । बुधबार दिनभर मौसम सफा भए पनि रातिदेखि जिल्लामा हिमपात भएको हो । उत्तरी नाम्खा, सिमकोट, खार्पुनाथलगायत अधिकांश उच्च क्षेत्रमा आज बिहान हिमपात भइरहेको छ भने होचो स्थानमा पानी परिरहेको छ । 
   
लामो समयदेखि हिमपात नहुँदा खडेरी हुने चिन्तामा रहेका किसानको मुहारमा खुसी छाएको किसान कर्ण बोहराले बताउनुभयो । यस पटकको हिमपातले जेठासी बाली गहुँ, जौ, उवालाई राम्रो हुनुका साथै कात्तिके बाली लगाउनमा समेत सहयोग पुगेको बोहराले बताउनुभयो । 
   
हिउँ नपर्दा चिन्तामा रहेका हुम्लाका किसानको मुहारमा महिनौँपछि आएको हिउँले भने खुसी ल्याएको बोहराको भनाइ छ । खेतबारीमा लगाएका बाली सुक्न थालेको समयमा हिमपात र वर्षा हुँदा सहज भएको हो । स्याउ ओखरका बिरुवा मात्र नभएर खडेरीले सुक्न थालेको जेठासी बालीलाई पनि बचाएको उहाँको भनाइ छ । 
    
“कात्तिके बाली लगाउन कठिन भइरहेको बेला यो पटक परेको हिमपातले बीउ छर्न, खनजोत गर्न सहज भएको छ”, किसान मुक्ति रावतले भन्नुभयो । किसान खडेरी परेको कारण कात्तिके बाली लगाउन नसकिने चिन्तामा थिए । 
  
     उत्तरी नाम्खा गाउँपालिकाको लिमी, हिल्सा, नारालेख, याङ्गारलगायतका उच्च भागमा बाक्लो हिउँ परेको लिमी स्वास्थ्यचौकीमा कार्यरत लोग बोहराले बताउनुभयो । हिमपात सुरु भएसँगै लिमीमा चिसो अत्यधिक बढेको बोहराले बताउनुभयो । चिसोको कारण जनजीवन कष्टकर बनेको छ भने चौपायालाई समेत समस्या भएको छ । 

बिहीबार १८ माघ २०८० ०२:०३ PM मा प्रकाशित

प्रतिक्रिया