×

सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबीबीएसको पठनपाठन सुरु गराउनेछु : नेता आले

images

कैलाली : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ । यही क्रममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आले चुनावी अभियानमा व्यस्त देखिनु भएको छ । कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्नु भएका नेता आले पछिल्ला केही हप्तादेखि आफ्नो निर्वाचन क्षेत्रका गाउँ–गाउँ, टोल–टोल तथा बस्ती–बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै जनसम्पर्कलाई तीव्रता दिई रहनु भएको छ ।

चुनावी अभियानअन्तर्गत नेता आलेले वडा सम्पर्क कार्यालय उद्घाटन, कार्यकर्ता भेटघाट, घरदैलो कार्यक्रमलगायत विभिन्न गतिविधिलाई निरन्तरता दिनु भएको छ । स्थानीय जनताको सुख–दु:ख बुझ्दै विगतमा आफूले गरेका विकास निर्माणका काम र आगामी दिनका योजना सार्वजनिक गर्दै उहाँ मतदाताको विश्वास जित्ने प्रयासमा जुटिरहनु भएको बताइएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कैलाली–५ मा १५ जनाको उम्मेदवारी परेको छ । प्रमुख राजनीतिक दलहरूले आ–आफ्ना प्रभावशाली उम्मेदवार मैदानमा उतारेका छन् ।
नेपाली कांग्रेसबाट नरनारायण शाह (मनु), नेकपा (एमाले) बाट यज्ञराज ढुंगाना, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट प्रेमबहादुर आले तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आनन्दबहादुर चन्द उम्मेदवार रहनु भएको छ ।

यस क्षेत्रको निर्वाचन प्रतिस्पर्धालाई निकै चासोपूर्ण रूपमा हेरिएको छ । डोटी जिल्लाबाट तीन पटक प्रतिनिधि सभा सदस्य निर्वाचित भइसकेका तथा विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालिसक्नु भएका नेता आले यसपटक नयाँ निर्वाचन क्षेत्र कैलाली–५ बाट उम्मेदवार बन्नु भएको हो ।

उहाँ २०७० र २०७४ सालमा नेकपा (एमाले) बाट तथा २०७९ सालमा नेकपा (एकीकृत समाजवादी) बाट निर्वाचित हुनुभएको थियो । यसपटक नेकपाले उहाँलाई कैलाली–५ बाट उम्मेदवार बनाएको छ । आफ्नो चुनावी अभियानका क्रममा नेता आलेले विगतमा मन्त्री हुँदा कैलाली जिल्लाका लागि गरेका कामहरूलाई प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गर्दै आउनु भएको छ ।

उहाँले डोटीबाट निर्वाचित भएर वनमन्त्री भएका बेला कैलालीसहित चुरे क्षेत्रको वन विनाश रोक्न वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गर्दै रुख कटान गरी काठ तस्करी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको दाबी गर्नुभएको छ ।
 त्यसैगरी कोरोना महामारीको कठिन समयमा सेती प्रादेशिक अस्पतालमा अक्सिजनको व्यवस्था गराएर यहाँका नागरिकको जीवन रक्षा गर्न योगदान दिएको उहाँको भनाइ छ ।

धार्मिक तथा सांस्कृतिक क्षेत्रको विकासका लागि बेहडा बाबा मन्दिरमा बजेट विनियोजन गरिएको, धनगढी विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा विकास गर्न बजेट विनियोजन गरी हाल टर्मिनल लगायतका भवन, ब्यागेज बेल्ट लगायतका नयाँ भौतिक संरचनाहरू निर्माण भइसकेको उल्लेख गर्दै आउनु भएको छ ।
 

आइतबार​ १९ माघ २०८२ ११:४५ AM मा प्रकाशित

प्रतिक्रिया