काठमाडौं । गाजामा इजरायली सेनाको हवाई हमलामा परी ३२ जनाको मृत्यु भएको छ । गाजाको स्थानीय प्रशासन इजरायली हमलामा परि ३२ जनाको मृत्यु भएको जनाएको छ । हमासको सिभिल डिफेन्स एजेन्सीका अनुसार शनिवार भएको पछिल्लो हमलामा मारिएकाहरूमध्ये महिला र बालबालिका पनि रहेका छन् । एजेन्सीले खान युनिसको दक्षिणी क्षेत्रमा विस्थापित मानिसहरू बसिरहेका टेन्टहरूमा हेलिकोप्टरबाट आक्रमण गरिएको दाबी गरेको छ ।
प्यालेस्टिनी पक्षले यस आक्रमणलाई यस महिनाको सुरुवातमा लागू भएको संघर्षविरामको दोस्रो चरण पछिको सबैभन्दा ठूलो आक्रमण भएको जनाएको छ । इजरायली सेनाले भने शुक्रवार ‘हमासतर्फबाट संघर्षविराम सम्झौता उल्लङ्घन’ गरिएको आरोप लगाउँदै त्यसको जवाफमा विभिन्न स्थानमा आक्रमण गरिएको पुष्टि गरेको छ । इजरायल र हमास दुवैले एक-अर्कामाथि संघर्षविराम उल्लङ्घन गरेको आरोप लगाइरहेका छन् ।
इजरायल-हमासबीचको पछिल्लो द्वन्द्व ७ अक्टोबर २०२३ मा हमासका लडाकूहरूले इजरायलमा आक्रमण गरेपछि सुरु भएको थियो । ती आक्रमणमा १० नेपालीसहित करिब १ हजार २०० जनाको मृत्यु भएको थियो भने हमासले २५१ जनालाई बन्धक बनाएको थियो ।
त्यसपछि गाजामा इसरायलले चलाएको सैन्य अभियानमा ७१ हजार ६६० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।पछिल्लोपटक १० अक्टोबर २०२५ मा संघर्षविराम लागू भएयता कम्तीमा ५०९ प्यालेस्टिनी मारिएका छन् भने चार इजरायली सैनिकको पनि ज्यान गएको छ ।
प्रतिक्रिया