×

काँग्रेसमा महाधिवेशनको विषय पेचिलो बन्दै, शेखर र महामन्त्रीद्वयबीच छलफल

images

काठमाडौँ । नेपाली काँग्रेसमा महाधिवेशनको विषय पेचिलो बन्दै गएको छ । विहिबारको केन्द्रीय समितिको बैठक महामन्त्री गगन थापाले बहिष्कार गरेपछि यसलाई गगनको विद्रोहको रुपमा हेरिएको छ । मङ्सिर भित्र नियमित वा विशेष महाधिवेशनको कार्यतालिका केन्द्रीय समितीको बैठमा पेश गर्ने प्रयासमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमति नजनाएपछि महामन्त्री थापाले विहिबारको बैठकनै बहिष्कार गरेका थिए ।

यसैबीच कांग्रेसका नेता शेखर कोइरालाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूसँग कांग्रेसमा देखिएको अहिलेको विवादका विषयमा छलफल गरेका छन् । शुक्रबार बिहान भएको छलफलमा कोइराला पक्षका अन्य नेताहरु पनि सहभागी रहेका थिए । उनीहरुले नियमित महाधिवेशन कार्यतालिका ल्याउने विषयमा छलफल गरेको बताइएको छ ।

साथै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षरसमेत बुझाएको विषय पनि जारी केन्द्रीय समितिले निर्णय गर्नुपर्ने अवस्था रहेको छ ।

कांग्रेसमा अहिले नियमित महाधिवेशन गर्ने की विशेष महाधिवेशन गर्ने र कहिले गर्ने भन्नेमा विवाद रहेको छ । संस्थापन पक्ष तत्काल महाधिवेशनमा जान चाहेको छैन भने दुई महामन्त्री र शेखर कोइराला पक्ष तत्काल महाधिवेशन गर्नुपर्ने पक्षमा रहेको छ । कांग्रेसको अहिलेको कार्यसमितिको पदावधि मङ्सिर महिनासम्म रहेको छ भने बिधानमा एक बर्ष पदावधि थप्न सकिने वयवस्था रहेको छ ।

गत असोज २८ गतेदेखि जारी रहेको केन्द्रीय समितिको बैठक आज पनि दिउसो १ बजे बस्दैछ ।

शुक्रबार​ १५ कात्तिक २०८२ ११:५० AM मा प्रकाशित

प्रतिक्रिया