×

महोत्तरीको जलेश्वर र गौशाला बजार बन्द, जनजीवन प्रभावित

images

महोत्तरी, १५ साउन । पूर्वी तराईका विभिन्न जिल्लाहरूमा हालै भएका घटनाहरूको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर र प्रमुख व्यापारिक केन्द्र गौशाला बजार पूर्ण रूपमा बन्द भएका छन्। स्थानीय प्रदर्शनकारीहरूको आह्वानमा शुक्रबार बिहानैदेखि पसल, व्यवसाय तथा हाटबजार बन्द गराइएको हो।

सुनसरीको देवानगञ्ज तथा सिरहाको गोलबजारमा विकसित घटनाक्रमलाई लिएर स्थानीय समूहहरूले बिहीबारदेखि नै विरोध प्रदर्शन गर्दै आएका थिए। सोही प्रदर्शनकै निरन्तरतास्वरूप पूर्वघोषित कार्यक्रम अनुसार शुक्रबार बजार, व्यापारिक प्रतिष्ठान तथा मुख्य चोकहरू ठप्प पारिएको स्थानीय सरोकारवालाहरूले बताएका छन्।

जलेश्वर र गौशाला बजार बन्दका कारण स्थानीय जनजीवन प्रभावित भएको छ। बजारका मुख्य चोकहरूमा प्रदर्शनकारीहरूले टायर बालेर प्रदर्शन गरेपछि जलेश्वर-जनकपुर, जलेश्वर-बर्दिबास तथा गौशाला जोड्ने सडक खण्डमा सार्वजनिक सवारी साधनको आवतजावत आंशिक रूपमा प्रभावित भएको छ।

व्यापारिक प्रतिष्ठानहरू बन्द हुँदा दैनिक उपभोग्य वस्तु खरिद गर्न निस्किएका सर्वसाधारण तथा टाढाबाट कामका लागि सदरमुकाम पुगेका सेवाग्राहीहरू मर्कामा परेका छन्। बजार बन्द र सम्भावित अशान्तिलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लावासीलाई संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारीद्वारा जारी विज्ञप्तिमा कुनै पनि प्रकारका अफवाहको पछि नलाग्न, कानुन हातमा नलिन र शान्तिपूर्ण वातावरण कायम राख्न अनुरोध गरिएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार स्थिति नियन्त्रणमै रहेको र अप्रिय घटना हुन नदिन जलेश्वर, गौशाला तथा आसपासका संवेदनशील क्षेत्रहरूमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरी सुरक्षा व्यवस्था चुस्त बनाइएको छ।

शुक्रबार​ १५ साउन २०८३ १२:३४ PM मा प्रकाशित

प्रतिक्रिया