काठमाडौँ। साताको सुरुवाती चार कारोबार दिन लगातार ओरालो लागेको सेयर बजार परिसूचक नेप्से साताको अन्तिम दिन शुक्रबार दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक १२.९६ अंकले बढेर २ हजार ६८५.५४ विन्दुमा पुगेको हो।
बजार बढेसँगै कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा सुधार आएको छ। बिहीबार ३ अर्ब ३८ करोड रुपैयाँको सेयर कारोबार भएकोमा शुक्रबार ३ अर्ब ७५ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
पछिल्लो समय पूर्वी तराईका जिल्लाहरूमा देखिएको सुरक्षा संवेदनशीलता र आन्दोलनका कारण प्रभावित बनेको बजारले साताको अन्तिम दिन भने केही राहत महसुस गराएको छ।
कम्पनीहरूको अवस्था: शुक्रबार कुल ३३७ वटा धितोपत्रको ८८ लाख ५१ हजार २१६ कित्ता सेयर किनबेच भयो। कारोबार भएका कम्पनीहरूमध्ये १८० कम्पनीको सेयर मूल्य बढेको छ भने ८२ वटाको घटेको छ र १३ कम्पनीको मूल्य स्थिर रह्यो। उपसूचकहरूको ट्रेन्ड: कारोबारमा आएका १३ उपसूचकहरूमध्ये ११ वटा समूहको सूचक हरियाली बनेका छन्।
निर्जीवन बीमा र व्यापार उपसूचकमा मात्र सामान्य गिरावट देखिएको छ। उच्च कारोबार: शुक्रबार रिडी पावर कम्पनीको सर्वाधिक आकर्षण देखियो, जसको १७ करोड २६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो। कमाउने र गुमाउने: आज एभरेष्ट कलर लिमिटेडको सेयर मूल्यमा १५ प्रतिशतको वृद्धि हुँदै सकारात्मक सर्किट लाग्यो भने बोटलर्स नेपाल (तराई) का लगानीकर्ताले सबैभन्दा बढी ५.३३ प्रतिशत गुमाए।
साप्ताहिक रूपमा भने ४९ अंकको गिरावट
शुक्रबार बजारमा सुधार देखिए पनि समग्र साताको हिसाब गर्दा भने लगानीकर्ताले नोक्सानी ब्यहोर्नुपरेको छ। गत साता २ हजार ७३४.६० विन्दुमा बन्द भएको नेप्से यो साताको उतारचढावपछि २ हजार ६८५.५४ विन्दुमा सीमित भएको हो। यसरी साताभरमा नेप्से समग्रमा ४९ अंकले घटेको छ।
छोटो अवधिका लगानीकर्ताहरूले तल्लो विन्दुमा पुगेको सेयर खरिद गर्न थालेकाले (Buy on Dip) बजारले पुनः उकालो यात्रा तय गरेको विश्लेषकहरूको भनाइ छ।
प्रतिक्रिया