×

अब ६८ वर्ष पुगेका नेताहरू काम गर्न छोडेर भत्ता खाएर बस्नुस् : विमला राई पाैड्याल

images

सङ्घीय संसद् अन्तर्गत राष्ट्रिय सभामा आज मङ्गलवारदेखि आउँदाे आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि छलफल सुरु भएको छ । 

छलफलमा बाेल्दै राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले  सदस्य पौड्यालले सरकारले वृद्ध भत्ताको उमेर हद दुई वर्ष घटाएर ६८ पुर्‍याएकाेमा आपत्ति जनाउनुभएकाे छ । देश आर्थिक सङ्कटमा फसिरहेको बेलामा सरकारको यो निर्णयले देशलाई नै आर्थिक भार बढाउने उहाँले बताउनुभयो । 

उहाँले पाँच महिना बाँकी हुँदा सरकारले देशमा आर्थिक दायित्व थपेको आरोप लगाउँदै भन्नभयाे, ‘जति औसत आयु बढ्दै जान्छ, त्यति भत्ता पाउने उमेर बढाउनुपर्छ । प्राकृतिक नियम त्यो हो । तर हाम्रोमा नियम पछाडि दौडेको छ । दुई वर्ष घटाइएको छ । यो घटाउँदा कति आर्थिक दायित्व पर्छ भन्ने कुरा थाहा छैन । अर्को सरकारले क्रमशः ६५, ५५ बनाउँछु भन्यो भने के गर्ने ? भोट माग्ने राजनीति न भएको छ । अहिले जुन काम गर्न नसक्ने भनेर ६८ राख्नुभएको छ, प्रधानमन्त्रीज्यू अस्ति नै पुगिसक्नुभएछ ६८ त । अरू शीर्ष नेताहरू सबै ६८ वर्ष पुगिसक्नुभएको छ । उहाँहरू सबैले काम गर्न छोडेर भत्ता खाएर बस्नुस्, काम गर्न सक्नुहुन्न भने । पाँच महिनाको सरकारले यसरी दायित्व थप्न मिल्छ ? यो उमेर घटाउने बेला हो ? बरु सामाजिक सुरक्षाको अन्य दायरा बढाउनु पर्छ । राष्ट्रपति उत्थान कार्यक्रमले सुत्केरी सेवामा एकदम राम्रो गरिरहेको छ, यसको बजेट घटाइएको छ, यसलाई विस्तार गर्नुपर्छ ।’

सदस्य पाैड्यालले बजेट कार्यान्वयनमा चुनौती रहेको बताउनुभयो । उहाँले सरकारले ल्याएको बजेटलाई कार्यान्वयन गर्नु नपर्ने चुनावी प्रचारको संज्ञा दिनुभयो । उहाँले १२ खर्ब ४० अर्ब राजस्व उठाउने कुरा हास्यास्पद रहेको बताउनुभयो । उहाँले आयातमा टिकेको राजस्व आयात घटाउने भए कसरी उठ्छ भन्ने प्रश्न गर्नुभयो । 

मङ्गलबार १७ जेठ २०७९ ०५:४८ PM मा प्रकाशित

प्रतिक्रिया