×

वाणिज्य बैंकहरूको नाफा ११.५१ प्रतिशतले बढ्यो, नबिलको बैंकको सबैभन्दा बढि

images

काठमाडाैं । वाणिज्य बैंकहरूको नाफा ११.५१ प्रतिशतले बढेको छ । बैंकहरूले चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिकसम्मको वित्तीय विवरण अनुसार नाफामा यस्तो सुधार देखिएको हो ।

चालु आवको यो अवधिमा बैंकहरुले ३० अर्ब ५९ करोड ३९ लाख रुपैयाँ बराबरको नाफा कमाएका छन् । गत आर्थिक वर्ष अर्थात् २०८१/८२ को यही अवधिमा बैंकहरूले कुल २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ नाफा कमाएका थिए ।

तथ्यांकअनुसार सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ भने वृद्धिदरका हिसाबले कुमारी बैंक अग्रस्थानमा रहेको छ। समीक्षा अवधिसम्म नबिल बैंकले ४ अर्ब ७५ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब २४ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो बैंकको नाफा ४६.७१ प्रतिशतले बढेको छ।

यसैगरी दोस्रो धेरै नाफा कमाउनेमा ग्लोबल आइएम बैंक रहेको छ। समीक्षा अवधिसम्म बैंकले ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ६.५० प्रतिशतले बढेको छ।

तेस्रो धेरै नाफा कमाउनेमा कुमारी बैंक रहेको छ। बैंकले समीक्षा अवधिसम्म २ अर्ब ७२ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले २७ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा नाफा ८८६.५० प्रतिशतले बढेको छ।

त्यस्तै समीक्षा अवधिसम्म एभरेष्ट बैंकले २ अर्ब ११ करोड ७१ लाख रुपैयाँ र प्राइम बैंकले २ अर्ब ४ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म एभरेष्टले २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ प्राइमले १ अर्ब ८६ करोड ९९ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा एभरेष्टको नाफा २.०४ प्रतिशत र प्राइमको ९.२७ प्रतिशतले बढेको छ।

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ११ वटा बैंकको नाफा बढेको छ भने ९ वटाको घटेको छ। समीक्षा अवधिमा सिटजन्स बैंक घाटामा रहेको छ भने सबैभन्दा कम नाफा कमाउनेमा एनआईसी एसिया बैंक रहेको छ।

सरकारी स्वामित्वका बैंकहरूले पनि यो अवधिमा निकै राम्रो प्रदर्शन गरेका छन्। नेपाल बैंकले १८३.०४ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले १३२.०४ प्रतिशतले नाफा बढाएका छन् । सिद्धार्थ बैंकले नाफामा १५० प्रतिशत सुधार गरेर १ अर्ब ३२ करोड रुपैयाँ पुर्याएको छ । माछापुच्छ्रे बैंकले २५.२५ प्रतिशत, सानिमा बैंकले १६.६७, नेपाल एसबीआई बैंक १४.५६ प्रतिशत, प्राइम कमर्सियल बैंकले ९.२७ प्रतिशत र एभरेस्ट बैंकले २.०४ प्रतिशत नाफा बढाएका छन् ।

सिटिजन्स बैंक इन्टरनेशनलको ४५.७८, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४३.०५ र प्रभु बैंकको नाफामा २४.०८ ले संकुचन आएको छ ।

त्यस्तै, कृषि विकास बैंकले २६.१२ प्रतिशत, एनएमबि बैंकले १७.१७ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १६.२९ प्रतिशत, हिमालयन बैंकले १४.८९ प्रतिशत र एनआईसी एशिया बैंकले १३.५४ प्रतिशत गुमाएका छन् ।

यो अविधमा लक्ष्मी सनराइज बैंक भने नोक्सानमा छ । गत वर्ष यही अवधिमा १ अर्ब १६ करोड नाफामा रहेको बैंक चालु आवको छ महिनामा २७ करोड ३६ लाख रुपैयाँ नोक्सानमा गएको हो । इम्पेरिमेन्ट चार्मा ४ अर्ब ४७ करोड छुट्याउनुपर्दा बैंक नोक्सानको अवस्थामा पुगेको हो ।

शनिबार १८ माघ २०८२ ०७:५० PM मा प्रकाशित

प्रतिक्रिया