×

अब गाडी तपाईँले होईन, हामीले हाँक्ने हो- गगन थापा

images

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाडौं–४ बाट प्रतिनिधिसभामा निर्वाचित गगनकुमार थापाले अब पनि पूरानो नेतृत्वबाट देश चल्न नसक्ने बताएका छन् । आज काठमाडौंमा आयोजित उर्वरा राष्ट्रिय सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘अब पूरानो नेतृत्वबाट देशले केही पनि पाउँदैन् । मैले कुनै नेताको अनादार गरेको होईन । त्यहाँसम्म चाहीँ असन्तुष्ट हुनैपर्छ ।’ उनले नेपालका सबै दलका पूराना नेतृत्वले देशलाई सही गन्तव्यमा पुर्याउन नसक्ने दाबी गरेका छन् ।

उनले अब कांग्रेसमा आफूहरुले नेतृत्व गर्ने भन्दै त्यसको लागि आफूले तयारी गरेको पनि सुनाए । उनले भने,‘अब गाडी हाँक्ने पालो हाम्रो । यो सन्तुलनको खोजी हो । मैले दलभित्र गरेको संघर्ष पनि यही हो ।’ प्रत्येक युगको एउटा समय हुने बताउँदै थापाले अहिलेको युगमा आफूहरूले नेतृत्व गर्न पाउनुपर्ने बताए । ‘हाम्रो समाजको सन्तुलन ठीकढंगले भेट्न सक्नुपर्छ ।

कहाँ चित्त बुझाउने ? कहाँ चित्त नबुझाउने हो ? चित्त बुझाउने ठाउँमा चित्त बुझाऊँ । चित्त नबुझाउने ठाउँमा नबुझाऊँ, प्रश्न गरौँ ?’ थापाले भने,  ‘सबै कुरामा चित्त बुझायौ भने समाज अगाडि बढ्न सक्दैन । सबै कुरामा असन्तुष्टि मात्रै राखियो भने पनि अगाडि बढ्न सक्दैनौँ । यसमा हामीले सन्तुलन मिलाउनै पर्छ ।’ नेपालका पुराना नेतृत्वले अब नेपालको गाडी हाँक्न खोज्यो भने गति र गन्तव्य दुवैमा पुग्न नसकिने थापाले बताए ।  ‘उहाँहरू(पुराना नेताहरू)लाई आदर सम्मानपूर्वक भन्नुपर्छ त्यहाँसम्म पुर्‍याउनुभयो । धन्यवाद दिनुपर्छ’ थापाले भने, ‘तर फेरि पनि पुराना नेतृत्वले गाडी हाँक्न थाल्नुभयो भने हामीले असन्तोष व्यक्त गर्नै पर्छ । त्यसमा हामीले प्रश्न गर्नै पर्छ ।’

बुधबार १४ मंसिर २०७९ ०७:३४ PM मा प्रकाशित

प्रतिक्रिया