×

क्रिकेट एनपीएल आजदेखि, उद्घाटन खेलका सबै टिकट बिक्री

images

काठमाडौं ।   काठमाडौंमा  आजदेखि नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करण सुरु हुँदैछ । खेलको तयारी पूरा भएको र उद्घाटन खेलका लागि सबै टिकट बिक्री भइसकेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले शुक्रबार जनाएको थियो ।  सामाजिक सञ्जालमार्फत क्यानका सचिव पारस खड्काले सीमित पूर्वाधार क्षमताका कारण पहिलो खेलका लागि टिकट र भिआइपी पास सकिएको जानकारी गराए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,  “क्यानले आयोजनामा हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगअन्तर्गतको पहिलो खेलका टिकट र पास सकिएका छन् । कृपया सबैलाई समन्वय गर्न अनुरोध गर्दछौँ ।”

सचिव खड्काले उद्घाटन खेलको टिकट नभएकाले टेलिभिजन वा डिजिटल प्लेटफर्मबाट नै खेल हेर्न आग्रह गरेका छन् । साथै, उनले शनिबार हुने खेलको पासका लागि सम्पर्क नगर्न अपिल ग रे । उद्घाटन खेलका लागि १० हजार वटा टिकटमध्ये भिआइपीतर्फका आठ सय र सामान्यतर्फका नौ हजार दुई सय टिकट बिक्री भएको क्यानले जनाएको छ । आज हुने उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।

आगामी पुस ६ गतेसम्म सञ्चालन हुने पहिलो संस्करणको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको छ।

स्वदेशी तथा विश्व चर्चित खेलाडीको आगमनले पनि एनपिएलले बजारमा निकै चर्चा पाएको हो। त्यसो त दुलही झैं सिङ्गारिएको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको चर्चा पनि उत्तिकै छ। त्रिवि मैदानमा कैयौँ खेल भए तर यसपटक भने आम दर्शकका लागि ‘डिजिटल स्कोर बोर्ड’ जडान गरिएको छ।

यसले खेलाडी टिम र खेलप्रेमी दर्शकलाई त्रिवि मैदानमा ठूलो स्क्रिनमा खेलको स्कोर र अपडेट हेर्न सहज हुनेछ। यही मङ्सिर १२ गते नै टिकट बुक गरिसक्नुभएका इमाडोल निवासी रमण थापाले त्रिवि मैदानमा चर्चित विदेशी खेलाडीको खेल हेर्न आफू निकै आतुर रहेको बताए।

त्यसो त एनपिएलमा विश्वचर्चित स्टार खेलाडीको सहभागिताले पनि प्रतियोगिता थप रोमाञ्चक हुने आशा गरिएको छ। विश्वचर्चित भारतीय खेलाडी शिखर धवनको आमगनले पनि नेपाली क्रिकेट खेलमा थप उत्साह थपिएको हो।

भारतका लागि तीनवटै फर्म्याटमा खेलिसकेका स्टार खेलाडी धवन, न्यूजिल्याण्डका मार्टिल गप्टिलजस्ता स्टार खेलाडी पहिलो पटक नेपालमा लिग खेल्न आउँदैछन्। त्यसमा जिम्मी निसम र बेन कटिङ जस्ता टी–२०का स्टार खेलाडीको सहभागिताले पनि एनपिएल निकै चर्चामा आएको हो।

विश्वचर्चित खेलाडीसँगै एनपिएलमा लगानीकर्ता टोलीले पनि खेलाडीमा खर्च गर्न कुनै कन्जुस्याँई गरेको देखिँदैन। फ्रेन्चाइज टिम किन्नकै लागि करिब तीन करोड माथिसम्म खर्च गरेको छ। पोखरा एभेन्जर्सले करिब तीन करोड ५७ लाखमा फ्रेन्चाइज किनेको थियो। यस्तै कम खर्च गर्नेले पनि कम्तीमा एक करोडभन्दा माथि रकम फ्रेन्चाइज फि तिरेको छ।

एनपिएलको अर्को आकर्षण भनेको खेलाडीले कार पाउनु पनि हो। नेपाली क्रिकेट इतिहामा खेलाडीले खेलेरै कार पाउने यो पहिलो पटक हुनेछ। क्यानका अनुसार प्रतियोगितामा उत्कृष्ट घोषित हुने एक खेलाडीले एक थान कार पुरस्कार प्राप्त गर्नेछन्।

त्यस्तै क्यानले प्रतियोगिताको विजेता टोलीलाई ठूलै नगद पुरस्कार दिने भनिएता पनि हालसम्म के कति पुरस्कार दिने भन्ने विषयमा खुलाएको छैन।

शनिबार १५ मंसिर २०८१ ०७:३५ AM मा प्रकाशित

प्रतिक्रिया