काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो औपचारिक विदेश भ्रमण चीनबाट हुने भएको छ। चिनियाँ राष्ट्रपति सी जिङ पिङको निमन्त्रणामा आगामी मंसिर १७ गते प्रधानमन्त्री चीन जाने कार्यक्रम तय भएको हो । भ्रमण मंसिर २० गतेसम्म हुनेछ।
पछिल्लो सातादेखि परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको चीन भ्रमणको तयारी गरिरहेको थियो। प्रधानमन्त्री ओलीले गतमहिना संयुक्त राष्ट्रसंघको महासभा बैठकका दौरान चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरेका थिए। सो क्रममा वाङले प्रधानमन्त्री ओलीलाई चिनियाँ राष्ट्रपति सीको सन्देश र निमन्त्रणा अवगत गराएका थिए।
प्रधानमन्त्रीको चीन भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री डा.आरजु देउवा राणा बेइजिङ जाने बताइएको छ। परराष्ट्रमन्त्रीको भ्रमणपछि प्रधानमन्त्रीको औपचारिक भ्रमणको कार्यक्रमसहितको तालिका सार्वजनिक हुनेछ। यसपटक प्रधानमन्त्री ओलीको चीन भ्रमणमा बिआरआई कार्यान्वयन मुख्य एजेण्डा हुनेछ। प्रधानमन्त्री ओली २०७५ मा प्रधानमन्त्री हुँदा चीनसँग भएको पारवाहनलगायत सम्झौताको कार्यान्वयनका विषय पनि भ्रमणको प्राथमिकतामा रहेको छ।
प्रतिक्रिया