काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी भई आज अपरान्ह स्वदेश फर्केका छन् । प्रधानमन्त्री ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भएको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन यही असोज ४ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका गएको थियो । न्यूयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले महासभालाई यही असोज १० गते सम्बोधन गरे का थिए ।
महासभाका क्रममा यस वर्ष ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ भन्ने विषयमा केन्द्रित भई छलफल भयो । न्युयोर्क रहँदा प्रधानमन्त्री ओली महासभाको साधारण बहसको उद्घाटनसत्र र अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी भए ।
उनी तिकम विकसित देशहरूको सम्मेलन र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई सम्बोधनसहित विभिन्न कार्यक्रममा सहभागी भए । उनले भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका आफ्ना समकक्षीसँग भेटघाट गरी द्विपक्षीय वार्ता गरे ।
राष्ट्रसंघीय महासभाबाट १० दिनपछि स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विपद्ले गराएको क्षतिबारे टिप्पणी गरेका छन् । त्रिभुवन विमानस्थलमा प्रधानमन्त्रीले रेड अलर्ट जारी गरे पनि पहिरो कहाँ कहाँ जान्छ भनेर पूर्वानुमान नभएको बताए । उनले भने, ‘काठमाडौंमा यति डुबान होला भन्ने कल्पना थिएन।’
उनले विपदको संवेदनशील बेलामा विरोध गरेर परिस्थिति झन् बिगार्न खोजिएको भन्दै असन्तोष जनाए । प्रधानमन्त्री ओलीले भने, ‘संवेदनशील बेलामा विरोधका लागि विरोध नगरौं। सरकार छ । यसले परिस्थिति सम्हाल्छ । गरिरहेको पनि छ ।’
ओलीले सञ्चारकर्मीसँग बोले लगत्तै जारी प्रेस वक्तव्यमा विपद्का मृतकप्रति श्रद्धान्जली व्यक्त गरिएको छ । उनले घाइतेको स्वास्थ्यलाभ कामना गरेका छन् ।
ओलीले सरकारी निकाय र जनस्तरबाट उद्धार कार्य जारी रहेको भन्दै धैर्य गर्न आग्रह पनि गरेका छन् । उनले सरकारले सहायता र राहतमा कसर बाँकी नराख्ने प्रतिबद्धता पनि जनाए ।
वक्तव्यमा ओलीले १० दिने भ्रमण क्रममा गरेका भेटवार्ता र तिनको उपलब्धिबारे चर्चा गरिएको छ । विपद्का बेला प्रधानमन्त्रीले आवश्यकभन्दा लामो भ्रमण गरेको भन्दै आलोचना भइरहेका बेला ओली पूर्वनिर्धारित भ्रमण तालिका अनुसार नै स्वदेश फर्केका हुन् ।
प्रतिक्रिया