×

सुगम ठाउँमा 'पर्यटक' जस्तो बनेर नबस्नुस्, जनताको घरदैलोमा जानुस्: एमाले कार्यकर्तालाई अध्यक्ष ओलीको कडा निर्देशन

images

काठमाडौँ — नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असहमति र असमझदारीलाई थाती राख्दै आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनको तयारीमा पूर्ण रूपमा जुट्न मातहतका नेता तथा कार्यकर्ताहरूलाई विशेष आह्वान गरेका छन्। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयबाट सातै प्रदेश र जिल्ला कमिटीका सचिवालय सदस्यहरूलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले 'लोकतन्त्रको पुनर्बहाली' र 'आगामी स्थानीय निर्वाचन' लाई पार्टीको मुख्य राजनीतिक गन्तव्य र सांगठनिक प्राथमिकताका रूपमा अघि सारेका हुन् ।

भर्चुअल संवादमा उनले नेताहरूलाई राजधानी वा सुगम स्थानमा 'पर्यटक' जस्तो बनेर नबस्न र आ-आफ्नो कार्यक्षेत्रमा खटिएर ठोस कार्ययोजनाका साथ जनताको घरदैलोमा पुग्न कडा निर्देशन दिएका छन् ।

अध्यक्ष ओलीले वर्तमान राजनीतिक परिस्थितिमा पार्टीभित्र कुनै पनि आन्तरिक द्वन्द्व वा गुटबन्दी सह्य नहुने चेतावनी दिएका छन् । "विरोधीहरूले एमाले विभाजित हुने वा कमजोर हुने अपेक्षा गरे पनि विचार र सङ्गठनका हिसाबले पार्टी एकढिक्का छ," ओलीले भने। सानातिना असमझदारी छाडेर सबै नेता-कार्यकर्ता साझा सङ्कल्पका साथ निर्वाचन केन्द्रित हुनुपर्नेमा उनले जोड दिए । पार्टीको नीति र अनुशासन विपरीत जाने, सामाजिक सञ्जाल वा सार्वजनिक मञ्चमा नेतृत्वविरुद्ध जथाभाबी बोल्ने वा आन्तरिक विवाद खडा गर्नेहरूमाथि कडा सांगठनिक कारबाही गरिने उनले स्पष्ट पारे।

एमालेले अब नेताहरूको मूल्याङ्कन केवल उनीहरूको वरिष्ठता (Seniority) का आधारमा मात्रै नगर्ने नीति लियाे । "अब नेता तथा कार्यकर्ताको मूल्याङ्कन वरिष्ठताको आधारमा होइन, उनीहरूको काम र कार्यसम्पादनको उत्कृष्टताका आधारमा हुनेछ," ओलीले भने ।

अध्यक्ष ओलीले पार्टीका सबै तहका कमिटीहरूलाई यो महिनाभित्र डिजिटल रेकर्ड अध्यावधिक गर्न र नयाँ सदस्यता वितरण अभियानलाई तीव्र पार्न निर्देशनात्मक मार्गदर्शन गरे । भर्चुअल बैठकको सहजीकरण गर्दै महासचिव शङ्कर पोखरेलले तेस्रो केन्द्रीय कमिटी बैठकका निर्णयहरूलाई निर्देशिकामार्फत छिट्टै तल्लो तहसम्म पठाइने जानकारी दिए ।

पार्टीको जनधार बलियो बनाउन वडा, पालिका, जिल्ला र प्रदेश तहसम्म युवा पुस्तालाई पार्टी सङ्गठनमा आकर्षित गर्ने र जोड्ने विशेष कार्यक्रमहरू अघि बढाइने पोखरेलले बताए । जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन देशव्यापी सांगठनिक गतिविधि सञ्चालन गरिनेछ । लगातार तीनवटा बैठकमा अनुपस्थित हुने सदस्यहरूलाई विधानअनुसार पदबाट हटाउने व्यवस्थामा कडाइ गरिने समेत उनले स्पष्ट पारे ।

यो भर्चुअल संवादमा एमालेका उपाध्यक्षहरू रामबहादुर थापा 'बादल', विष्णुप्रसाद पौडेल, रघुजी पन्त तथा सचिवहरू भानुभक्त ढकाल, पद्मा अर्याल लगायतका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो । एमालेले आसामी वैशाखको स्थानीय चुनावमा बहुमत सिट जित्ने लक्ष्यसहित देशव्यापी रूपमा 'मिसन इलेक्सन' अभियान सुरु गरिसकेको छ ।

बुधबार १४ असोज २०८३ ०८:१० PM मा प्रकाशित

प्रतिक्रिया