काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक एवम् उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भदौको अन्तिम साता भोटेकोशी हुँदै आएको भीषण त्रिशूली बाढीले जलविद्युत् आयोजनाहरूको भविष्य र लगानी सुरक्षाबारे गम्भीर चिन्ता उत्पन्न गराएको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले आगामी हिउँदमा हुन सक्ने सम्भावित ऊर्जा सङ्कटतर्फ सरकारको ध्यान आकर्षण गराउँदै केवल आश्वासनले मात्र लोडसेडिङ नरोकिने चेतावनी दिएका हुन्।
घिसिङका अनुसार त्रिशूली नदी करिडोरमा सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजना, प्रसारण लाइन र सडक पूर्वाधारमा पुगेको क्षति अत्यन्तै गम्भीर छ। यसका साथै कालीगण्डकी करिडोरका प्रसारण संरचनामा समेत क्षति पुगेकाले विद्युत् उत्पादन, प्रसारण र आपूर्तिको समग्र प्रणालीमाथि भारी दबाब सिर्जना भएको छ।
भौगोलिक तथा भौगर्भिक जोखिमका कारण जलविद्युत् आयोजनाहरूको भविष्य र लगानी सुरक्षामाथि प्रश्न उठेको घिसिङको भनाइ छ। यस्तो प्राकृतिक विपद् र संरचनात्मक क्षतिले स्वदेशी तथा विदेशी लगानीकर्ताको मनोबलमा नकारात्मक असर पार्न सक्ने भएकाले सरकारले दीर्घकालीन सुरक्षा रणनीति तत्काल बनाउनुपर्नेमा उनले जोड दिएका छन्।
आगामी हिउँदमा नदीहरूमा पानीको बहाव घट्ने र विद्युत्को माग तीव्र रूपमा बढ्ने समयमा बिग्रिएका प्रसारण लाइनहरूले आपूर्तिमा ठूलो व्यवधान खडा गर्न सक्ने उनले औँल्याए। "लोडसेडिङ हुँदैन" भनेर ओठे प्रतिबद्धता वा घोषणा मात्र गर्नुको सट्टा, आजैदेखि वैकल्पिक प्रसारण व्यवस्था, द्रुत पुनर्स्थापना र आपूर्ति व्यवस्थापनका ठोस कामहरू थाल्न उनले सरकार र सम्बन्धित निकायलाई सुझाव दिएका छन्।
विपद्मा आफ्नो घरबार र सम्पत्ति गुमाएका नागरिकलाई जाडो मौसम सुरु हुन लाग्दा पनि सुरक्षित आवास र राहत नपुग्नु दुखद भएको घिसिङले बताए। राज्यले आफ्नो दायित्वबाट पन्छिन नमिल्ने भन्दै उनले प्रभावित नागरिकको पुनर्स्थापना, पूर्वाधारको द्रुत पुनर्निर्माण र भविष्यका विपद्बाट संरचना बचाउने रणनीतिलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेका छन्।
प्रतिक्रिया