काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफुले पाइरहेको सरकारी सेवासुविधा फिर्ता गर्ने तयारी गरेकी छिन् । नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेसँगै भण्डारीले सरकारी सुविधा फिर्ता गर्ने भएकी हुन् ।
भण्डारी निकट स्रोतका अनुसार उनले राष्ट्रपतिको कार्यकाल पूरा गरेर शितलनिवासबाट बाहिरिँदा नै सरकारले दिएका धेरै सेवा सुविधा फिर्ता गरिसकेकी थिइन् । सरकारले पूर्व राष्ट्रपतिलाई घर दिन्छ तर उनले सरकारले दिएको आवास सुविधा नलिइ आफ्नै घर चपली हाइट गएकी थिइन् ।
उनले सरकारले दिने सचिवालय, कर्मचारी, सुरक्षाकर्मीको घरभाडा जस्ता सुविधा लिइरहेकोमा त्यो पनि फिर्ता गर्न चाहेको उनीनिकट स्रोतले जानकारी दिएको छ । पूर्वराष्ट्रपतिले सरकारलाई आगामी आर्थिक वर्षको पहिलो दिनदेखि लागु हुनेगरी सेवासुविधा फिर्ताको पत्र लेख्ने तयारी गरेको बताइएको छ ।
सरकारले पूर्वराष्ट्रपतिलाई तलब पनि दिन्छ । तर, भण्डारीले तलब लिएकी छैनन् । सरकारले गाडी दिने व्यवस्था भए पनि उनले सरकारी गाडी नलिइ आफ्नै गाडी प्रयोग गर्छिन, इन्धन भने लिन्छिन् । यसबाहेक सरकारले उनलाई दुई जना स्वकीय सचिवको तलब र सुरक्षाकर्मी बस्ने घरको भाडा तिरिदिने गरेको छ ।
प्रतिक्रिया