काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा भड्काउने योजनामै राजावादीहरु सडकमा निस्किएको बताएका छन्। एमाले सचिवालय बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले योजनाबद्ध रुपमै राजावादीहरुले हिंसा भड्काउन खोजेको आरोप लगाएका हुन् । ‘उनीहरुको (राजावादीहरुको) नियत नै गलत । हिंसा भड्काउने योजना गरेरै आएका छन्’, प्रधानमन्त्री ओलीले भनेका छन् ।
तर हिंसात्मक गतिविधिका दोषीहरुमाथि कानुन बमोजिम कार्बाही हुने प्रधानमन्त्री ओलीले बताएका छन् । ‘अराजकता र अस्थिरता निम्त्याउन खोजिदैछ । लोकतन्त्र र संविधानलाई उल्लघन गर्ने मनसाय छ’ बैठकमा प्रधानमन्त्रीले भने, ‘हामीले लोकतनत्रको पक्षमा काम गर्नुपर्छ, अराजक गतिविधि कानुन बमोजिम नियन्त्रण हुन्छ ।’
एमालेले तीनकुने घटनाका दोषीलाई कारबाही प्रक्रिया अघि बढाउन माग गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालयको बैठकले राजावादीका नाममा भएको तोडफोडको भत्र्सना गरेको हो ।
‘मुलुकको लोकतान्त्रिक प्रणालीलाई बिथोलेर अराजकतातिर धकेल्ने जस्ता अराजक र आपराधिक क्रियाकलापको छानबिन गरी दोषीउपर तत्काल कारबाहीको प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गर्दछ’, पार्टीका महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि दृढतापूर्व उभिने संकल्प गर्दै सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनता लोकतन्त्रका पक्षमा र पश्चगमनका दुष्प्रयासका विरूद्ध गोलबन्द हुन आह्वान पनि गरेको छ।
प्रतिक्रिया