×

आजै मन्त्रिपरिषद् विस्तार गर्ने लक्ष्य छ : प्रधानमन्त्री प्रचण्ड

images

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सकेसम्म आजै मन्त्रिपरिषद विस्तार गर्ने बताएका छन् ।

चितवनको भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको आज बिहान आयोजित शिलान्यास कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सबै काम सकिएकाले सकेसम्म आजै बेलुका मन्त्रिपरिषद विस्तार गर्ने लक्ष्य रहेको बताए । आज नभए भोलि बिहान मन्त्रिपरिषद विस्तार गर्ने उनले बताए । 

‘सकेसम्म यहाँबाट १ बजे फर्केर जाने र आजै मन्त्रिमण्डल विस्तार गरेर शपथ ग्रहण गराउने मेरो लक्ष्य छ’, उनले भने, ‘यदि आज सकिएन भने पनि भोलि बिहान होला, काम त हाम्रो सकिएको छ ।’ उनले एक दुई वटा मन्त्रालय मिलाउन बाँकी भए पनि अरू टुङ्गिएको बताए । 

प्रधानमन्त्री प्रचण्डले नेपालको राजनीतिक स्थायित्वलाई नयाँ गति दिने सङ्कल्पसहित यो पटक आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको पनि बताए । ‘मलाई विश्वास छ अव राजनीतिक स्थायित्वले पनि अव नयाँ आधार प्राप्त गर्नेछ, मेरो चरित्र र विशेषता भनेको सबैलाई मिलाएर जाने नै हो त्यसका लागि म पुरै तागत लगाउँछु ।’ प्रधानमन्त्रीले आफू चितवनवासी भएको नाताले चितवनको विकासमा आफू लागिरहने प्रतिबद्धता जनाए । 

एक दुई वटा मन्त्रालयमा केही मिलाउन बाँकी भएपनि धेरैभन्दा धेरै विषय मिलिसकेको प्रधानमन्त्री प्रचण्डले दाबी गरे। ‘थोरै मिलाउन बाँकी छ। धेरै टुंगिएको छ। यो हामी सबैको लागि खुशीको कुरा हो।,’ प्रचण्डले भने। प्रचण्ड सत्ता गठबन्धनको बैठकमा सहभागी भएर हेलिकोप्टरमार्फत चितवन गएका थिए। 

बिहीबार १६ चैत २०७९ १२:२१ PM मा प्रकाशित

प्रतिक्रिया