×

एमाले अध्यक्ष ओली सत्ता साझेदार दलको संयोजक, पाँच दिनभित्र न्यूनतम् साझा कार्यक्रम तय गर्ने

images

काठमाडौं । सातदलीय गठवन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पाँच दिनभित्र बनाउने निर्णय गरेको छ । मस्यौदाका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा हरेक दलको प्रतिनिधिसहितको समिति बनाइने उपप्रधामन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए ।

‘न्यूनतम साझा कार्यक्रम ल्याउने सहमति भएको छ। सत्ता साझेदार दलको प्रमुखको रूपमा हामीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संयोजकका रूपमा अगाडि बढाउने निर्णय भयो,’ लामिछानेले भने, ‘न्यूनतम साझा कार्यक्रम ल्याउन ओली नेतृत्वको समितिमा सरकारमा रहेका दलहरूबाट एक/एक जना सदस्य पनि पठाउने तयारी छ।’ 

जसमा साझेदार दलबाट एकएक जना प्रतिनिधि रहनेछन् । कार्यदलले पाँच दिनभित्र न्यूनतम् साझा कार्यक्रम बनाइसक्नेछ ।  साथै आजको बैठकमा मन्त्रिमण्डल विस्तारबारे समेत छलफल भएको मन्त्री लामिछानेले जानकारी दिए । न्यूनतम्  साझा कार्यक्रम तय गर्दा हरेक राजनीतिक दलका एजेन्डा समेट्नेबारे समेत छलफल भएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई सात दलको समर्थन छ।

यसमा माओवादी, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी छन्। आज बसेको बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र लामिछाने सहभागी थिए ।

बिहीबार १४ पुस २०७९ ११:४५ AM मा प्रकाशित

प्रतिक्रिया