×

एनपीएल खेल्न भारतीय चर्चित क्रिकेटर शिखर धवन नेपाल आइपुगे

images

काठमाडौं । भारतीय चर्चित क्रिकेटर शिखर धवन नेपाल आइपुगेका छन्। नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सको टिमबाट खेल्न उनी शुक्रबार साँझ काठमाडौं आइपुगेका हुन्। उनलाई कर्णाली याक्स टिमका अफिसियलहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

कर्णालीका अन्य विदेशी खेलाडीमा हङकङका बाबर हायात, वेस्टइन्डिजका चाडविक वाल्टन र ओमानका जीशान मकसुद छन्। उनीहरू तीनैजना नेपाल आइसकेका छन्। काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार एनपीएलको भव्य शुभारम्भसंगै उद्घाटन खेल विराटनर किङ्स र जनकपुर बोल्टबीच हुँदै छ। 

प्रतियोगिता अघि शुक्रबार त्रिवि क्रिकेट मैदानमा आयोजित कार्यक्रममा क्यानका अध्यक्ष चतुर बहादुर चन्दले एनपीएलको सबै तयारी पूरा भएको जानकारी दिए।

नेपाली क्रिकेटमा नयाँ उचाइमा पुर्याउने क्यानको प्रयासमा सबैले सहयोग गरेको उनले बताए।

एनपीएलमा आठ फ्रेञ्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्ट, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

टीमका मार्की खेलाडीहले एनपीएलप्रति निकै उत्साहित भएको बताएका छन्। त्यस्तै उनीहरुले टीमको प्रशिक्षण राम्रो भएको र टीम सेट भएको जनाएका छन्।

कार्यक्रममा एनपीएलको आधिकारिक मस्कट सार्वजनिक गरिएको छ। एनपीएलको मस्कट जीत हिउँ चितुवा रहेको छ। एनपीएलका लागि त्रिवि क्रिकेट मैदानको पिचदेखि प्याराफिटसम्ममा परिवर्तन गरिएको छ भने भिआइपी सिटलाई बढाइएको छ। 

शुक्रबार​ १४ मंसिर २०८१ ०७:२१ PM मा प्रकाशित

प्रतिक्रिया