काठमाडौं । बडादशैँको सातौं दिन आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याइएको छ ।
काठमाडौंको हनुमानढोकाको दशैघरमा पनि फूलपाती भित्र्याइएको छ । गोरखा दरबारस्थित दसैंघरबाट काठमाडौंको हनुमानढोका दरबारका लागि पठाइएको फूलपाती दसैंघरमा भित्र्याइएको हो ।
हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिको व्यवस्थापनमा गुर्जुको पल्टन, पञ्चेबाजाका साथमा सुरक्षाकर्मीसहित टोलीले आज गोरखाबाट ल्याइएको फूलपाती हनुमानढोकास्थित दशैँघरमा भित्र्याइएको हो ।
तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौंको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि बर्सेनि बडादसैंको सातौं दिन गोरखा दरबारको दसैंघरबाट फूलपातीसहितको डोली काठमाडौंको हनुमानढोका दरबार पुर्याएर भित्र्याउने प्रचलन रहेको छ ।
गोरखा दरबारको दसैंघरबाट सतिपिपलस्थित फूलपाती चौतारासम्म फूलपातीको डोली दरबारका सुसारेहरूले बोकेर ल्याई त्यहाँबाट हनुमानढोका दरबार पठाउने प्रचलन रहेको छ ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैंघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवासमेत भित्र्याइन्छ ।
फूलपाती नौ देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ ।
प्रतिक्रिया