×

कीर्तिपुरमा लोकेश बमको विष्फोटक ब्याटिङ: विराटनगरले कर्णालीलाई दियो १८७ रनको ठुलो लक्ष्य

images

काठमाडौँ कात्तिक (ई-सञ्चारपाटी) ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको दोस्रो खेलमा विराटनगर किंग्सले कर्णाली याक्ससामु १८७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८६ रनको बलियो योगफल खडा गर्‍यो। 

लोकेश बमको विस्फोटक ब्याटिङ, शतकनजिक पुगेर आउट
विराटनगरको इनिङ्सलाई बलियो बनाउन ओपनर लोकेश बमले विष्फोटक ब्याटिङ गरे। उनले मात्र ५२ बलको सामना गर्दै ९ उत्कृष्ट छक्का र ३ चौकाको मद्दतमा सर्वाधिक ८७ रनको योगदान दिए। आक्रामक रूपमा ब्याटिङ गर्दै शतकतर्फ अघि बढेका लोकेशलाई १६औँ ओभरमा कर्णालीका कप्तान सोमपाल कामीले आउट गर्दै प्याभिलियन फर्काएका थिए।

मध्यक्रम र तल्लो क्रमको बलियो साथ
सुरुवाती ओभरमै इमरान शेख (५ रन) र चारिथ असलाङ्का (३ रन) सस्तैमा आउट भएर दबाबमा परेको विराटनगरलाई लोकेश र एन्जेलो म्याथ्युजले सम्हालेका थिए। म्याथ्युजले २३ बलमा ४ चौका प्रहार गर्दै ३१ रन जोडे। त्यस्तै, तल्लो क्रममा आएका आन्द्रे रसेलले १५ बलमा ३ चौका र २ छक्कासहित आक्रामक २७ रन बनाए भने बसिर अहमदले ७ बलमा १३ रनको योगदान दिए। 

सोमपाल कामीको उत्कृष्ट बलिङ, एक्लैले लिए ४ विकेट
कर्णाली याक्सका तर्फबाट कप्तान सोमपाल कामीले उत्कृष्ट बलिङ प्रदर्शन गरे। उनले आफ्नो ४ ओभरको स्पेलमा ३३ रन खर्चेर महत्त्वपूर्ण ४ विकेट चट्काए। यस्तै, विदेशी खेलाडी मार्क वाटले किफायती बलिङ गर्दै ४ ओभरमा मात्र २३ रन दिएर १ विकेट लिए भने नन्दन यादवको भागमा पनि १ विकेट रह्यो। 

विराटनगरले दिएको १८७ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउँदै अब केही बेरमा कर्णाली याक्सले जवाफी ब्याटिङ सुरु गर्नेछ।

बिहीबार १३ कात्तिक २०८३ ०७:३१ PM मा प्रकाशित

प्रतिक्रिया