×

सर्वदलीय बैठकको निष्कर्ष: सामाजिक सद्भाव जोगाउन संयुक्त विज्ञप्ति जारी गरिने

images

काठमाडौँ । देशका विभिन्न स्थानमा उत्पन्न तनावग्रस्त परिस्थिति र सामाजिक सद्भावमा आउन सक्ने चुनौतीलाई मध्यनजर गर्दै सर्वदलीय बैठकले संयमता अपनाउन र राष्ट्रिय एकता कायम राख्न संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेको छ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पहलमा आयोजना गरिएको सर्वदलीय बैठकमा सुनसरी लगायतका क्षेत्रमा देखिएको हालैको अशान्त वातावरण र तनावलाई सामान्य बनाउने विषयमा गहन छलफल भएको थियो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले देशका विभिन्न भागमा भड्किएको अशान्ति र सद्भावमा परेको असरलाई साम्य पार्न सबै राजनीतिक दलहरूको साझा धारणासहितको संयुक्त विज्ञप्ति जारी गर्ने सहमति भएको जानकारी दिए।

बैठकमा सहभागी नेताहरूले मुलुकको मौजुदा स्थितिमा सामाजिक सद्भाव, शान्ति–सुरक्षा र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न सबै दल एकै ठाउँमा उभिनुपर्नेमा जोड दिएका छन्। साथै, भीड नियन्त्रण र शान्ति व्यवस्था कायम गर्न सरकार थप जिम्मेवार र प्रभावकारी हुनुपर्ने धारणा समेत बैठकमा व्यक्त गरिएको थियो।

रास्वपा सभापति रवि लामिछानेले बहुदलीय राजनीतिक प्रणालीमा दलहरूबीचको संवाद र सहकार्यले नै मुलुकका जटिल समस्याहरूको समाधान निकाल्न सकिने बताएका छन्।

सर्वदलीय सहमति अनुसार छिटै नै सबै प्रमुख दलहरूका तर्फबाट नागरिकलाई संयम र सद्भाव कायम राख्न अपिल गर्दै संयुक्त विज्ञप्ति सार्वजनिक गरिने जनाइएको छ।

बुधबार १३ साउन २०८३ ११:०५ AM मा प्रकाशित

प्रतिक्रिया