काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको पार्थिव शरीरमा पार्टीका सभापति गगन थापाले नेपालको राष्ट्रिय झन्डा तथा नेपाली कांग्रेसको पार्टी झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्। उपचारका क्रममा ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा ८३ वर्षको उमेरमा मंगलबार निधन भएका नेता श्रेष्ठको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा राखिएको थियो।
श्रद्धाञ्जली सभामा पार्टी सभापति थापा, उपसभापति, पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता र शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको थियो। स्वर्गीय श्रेष्ठको पार्थिव शरीरलाई आजै (बुधबार) दिउँसो सानेपाबाट शवयात्रासहित पशुपति आर्यघाट लगिने र राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ।
वि.सं. २००१ मा जन्मिएका नेता गोपालमान श्रेष्ठ नेपाली लोकतान्त्रिक आन्दोलनका निष्ठावान् योद्धा मानिन्थे। २०१७ सालमा विद्यार्थी जीवनबाटै राजनीतिमा होमिएका उनले २०३६ सालको जनमतसंग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको प्रजातन्त्र पुनर्वहाली आन्दोलन र २०६२/६३ को ऐतिहासिक जनआन्दोलनमा अग्रपंक्तिमा रहेर भूमिका निर्वाह गरेका थिए।
राजनीतिक यात्राका क्रममा उनी:
२०४२–२०४८: नेपाली कांग्रेस स्याङ्जाको जिल्ला सभापति
२०४८, २०५६ र २०६४: स्याङ्जाबाट प्रतिनिधिसभा तथा संविधानसभा सदस्यमा निर्वाचित
२०५९–२०६३: नेपाली कांग्रेस (प्रजातान्त्रिक) को कार्यवाहक सभापति
विभिन्न मन्त्रालयको जिम्मेवारी: वाणिज्यमन्त्री, वनमन्त्री, भौतिक योजना तथा निर्माणमन्त्री र २०७२ मा उपप्रधान एवं शिक्षामन्त्री
कांग्रेस सभापति गगन थापाले केही दिनअघि मात्रै (साउन ७ गते) श्रेष्ठलाई पार्टीको वरिष्ठ नेतामा मनोनीत गरेका थिए। उनको निधनबाट नेपाली कांग्रेसले एक अनुभवी, निष्ठावान् र सादगी नेता गुमाएको भन्दै पार्टीका शीर्ष नेताहरूलगायत विभिन्न राजनीतिक दलका प्रमुखहरूले गहिरो दुःख व्यक्त गरेका छन्।
प्रतिक्रिया