काठमाडौं । न्याय माग्दै काठमाडौं आएका मिटरब्याज पीडितसँग सरकारले आज(बुधवार) वार्ता गर्दैछ ।
वार्ताका लागि सरकारले गृह मन्त्रालयकी सहसचिव रुद्रदेवी शर्माको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ । समितिलाई मंगलवार नै पीडितसँग वार्ता गर्न भनिएको थियो । तर, तयारी नपुगेको भन्दै मंगलवार वार्ता हुने सकेको थिएन । सरकारले मंगलवार दिउँसो वार्ता समिति गठन गरेको थियो ।
पीडित पक्षकोतर्फबाट भने वार्ता समिति गठन भइसकेको छैन । पीडित पक्षबाट आन्दोलनमा सहभागि सुर्जन तिवारीले वार्ता समिमि गठन भईनसकेको बताए । उनले भने,‘सरकारले वार्ता टोली गठन गरेको छ । सरकारी टोलीसँग हामी आजै वार्तामा बस्छौं । हाम्रो तर्फबाट वार्ता टोली गठन भइसकेको छैन । हामी तयारीमा छौं । बैठकपछि आजै निर्णय हुनेछ ।’
सरकारले मंगलवार नै मिटरब्याजलाई फौजदारी अपराध घोषणा गरि मुलुकी अपराध संहित ०७४ सम्शोधन गर्ने निर्णय गरेको छ । मंगलवार पीडित प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए । उनीहरुले बालुवाटारमा एक घण्टा धर्ना दिएका थिए । त्यसपछि माइतीघर मण्डला आएका उनीहरु नयाँ बानेश्वरस्थित संसद भवन पुगेका थिए । चौतर्फी दवावमा रहेको सरकारले मंगलवार साँझ मन्त्रीपरिषद्को आकष्मिक बैठक बोलाएको थियो । सोही बैठकले मिटरब्याजलाई अपराध घोषणा गरि कानून संशोधन गर्ने निर्णय गरेको थियो ।
१३ दिनदेखि पैदल हिँडेर उनीहरु सोमवार काठमाडौंको खुलामञ्च आइपुगेका थिए । उनीहरु खुलामञ्चबाट विरोध कार्यक्रम गर्न चाहन्थे । तर, काठमाडौं महानगरपालिकाले अवरोध गरेपछि सोमवार रातभर उनी खुलामञ्च प्रवेशद्धवारमै धर्नामा बसे । गत २ चैतमा उनीहरु महोत्तरीबाट पैदल हिँडेका थिए । ७३ जनाको समुहमा आएका उनीहरु हेटाडौं–भीमफेदी हुँदै काठमाडौ आइपुगेका थिए । उनीहरुसँग सत्केरी महिलादेखि वृद्धवृद्धा समेत सहभागि छन् ।
प्रतिक्रिया