काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीहरुलाई छलफलमा बोलाएका छन् । पार्टीभित्र देखिएको समस्या समाधानका लागि देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मालगायतलाई छलफलमा बोलाएका हुन् ।
बैठकमा देउवानिकट मानिएका अरु नेताहरु रमेश लेखक, र पूर्व पदाधिकारी पनि सहभागी हुने बताइएको छ । पार्टीको १५औं महाधिवेशनको विषयमा कांग्रेसभित्र अहिले दुईधार रहेको छ । कांग्रेस संस्थापन समूह आगामी फागुन २१ गतेको निर्वाचनपछि मात्रै पार्टीको महाधिवेशनमा जानुपर्ने पक्षमा उभिएको छ । इत्तर समूह भने तत्काल महाधिवेशन हुनुपर्ने र होइन भने विधानको व्यवस्थाअनुसार पुस २८ गतेसम्म विशेष महाधिवेशन जसरी पनि सम्पन्न गर्नुपर्ने पक्षमा छ ।
विशेष महाधिवेशनका लागि कांग्रेसका संस्थापन इतर समूहका झण्डै ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर केन्द्रीय समितिमा बुझाइएको छ । कांग्रेसको विधानमा विशेष महाधिवेशन गर्न सकिने प्रावधान रहेको छ । ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले विशेष अधिवेशन माग गरेको खण्डमा त्यसको ३ महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने बाध्यकारी व्यवस्था कांग्रेसको विधानमा रहेको छ ।
इतर समूहले विधानमा व्यवस्था भएको कुरालाई कार्यान्वयनमा लैजाँदै गर्दा यता संस्थापन समूहले भने विशेष महाधिवेशनले पार्टी फुटाउने दाबी गर्दै आएका छन् । यता संस्थापन इतर समूहले भने विधान महाधिवेशनले पार्टी नफुटाएर झनै बलियो र एकजुट बनाउने तर्क गर्दै आएको छ ।
कांग्रेसमा फागुन २१ को चुनावअघि महाधिवेशन गर्ने कि पछि, नियमित गर्ने कि विशेष भन्नेमा विवाद छ। पुसभित्रै नियमित महाधिवेशन हुन नसकेको खण्डमा विशेष महाधिवेशनको विकल्प नरहेको महामन्त्री थापा र शर्माले अडान राखेका छन् भने सभापति देउवा पक्षका कतिपय पदाधिकारी र पूर्वपदाधिकारी वैशाखमा मात्रै महाधिवेशनका पक्षमा छन्।
महाधिवेशनलाई लिएर विवाद भएपछि मिलाउन सभापति देउवाले आफूनिकट र महामन्त्रीहरूसँग संवाद थालेका हुन्।
प्रतिक्रिया