काठमाडौँ । विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।
रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रुपमा मनाइन्छ ।
यस वर्षको नारा ‘अहिलेनै गरौं: तपाइँ, हामी र समुदाय' भन्ने रहेको छ । यो दिवस लुइस पाश्चरको मृत्युको वार्षिकोत्सवका रुपमा समेत मनाइन्छ । फ्रान्सेली वैज्ञानिक लुइसले रेबिजविरुद्धको पहिलो खोप विकास गरेका थिए ।
यस दिवसको उद्देश्य रेबिजविरुद्धको लडाइँमा सबै समूह, सङ्गठन र सरोकारवालालाई एकजुट गराउने हो । ग्लोबल एलायन्स फर रेबिज कन्ट्रोलले सन् २००७ देखि विश्व रेबिजविरुद्धको दिवसको रुपमा मनाउन थालेको थियो । कालान्तरमा विश्व स्वास्थ्य सङ्गठनले यस दिवसलाई समर्थन गरेको थियो ।
नेपालले सन् २०३० सम्म रेबिजलाई शून्यमा झार्ने लक्ष्य लिएको छ । तर नेपालको सन्दर्भमा रेबिज चुनौती बन्दै गएको छ । अझै पनि ९९ प्रतिशत रेबिज कुकुरको टोकाइबाट हुने गरेको छ ।
रेबिज एक घातक भाइरल सङ्क्रमण हो, यसलाई न्यूरोट्रोपीक भाइरस भनिन्छ । जुन छाडा कुकुर, स्याल, चमेरो, न्याउरी मुसो, बाघ, चितुवा र बिरालोजस्ता सङ्क्रमित जनावरको टोकाइबाट सर्छ । रेबिजबाट बच्नको लागि सम्भावित जोखिम पछि तुरुन्तै खोप लगाउनु आवश्यक हुन्छ ।
रेबिजको सङ्क्रमणको लक्षण ज्वरो र टाउकोबाट सुरु हुन्छ र प्रकाश, पानी र हावादेखि डर लाग्ने हुन्छ । यसले पक्षघात र अन्ततः कोमामा समेत पुग्ने जोखिम हुन्छ । कुकुर वा बिरालोजस्ता जङ्गली जनावर वा घरपालुवा जनावरलाई छुँदा वा खुवाउँदा धेरै सावधानी अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन् ।
प्रतिक्रिया