×

के बालेन्द्र शाहको कामले महानगरमा पार्किङ र जामको समस्या हट्ला ?

images

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले यो साता आफ्नै अग्रसरतामा खासगरी नक्सामा पार्किङ भनेर राखेको तर व्यवहारमा व्यापारिक प्रयोजनमा लगाइएका बेसमेन्टजस्ता संरचना भएका भवनहरूमा डोजर लगाएर कारबाही गरेका छन्।

यसो गर्नुको एक मुख्य उद्देश्य महानगरपालिकाको अव्यवस्थित पार्किङ अनि त्यसैले निम्त्याउने ट्राफिक जामको समस्या सम्बोधन गर्नु रहेको बताइएको छ।

काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्व विकास आयुक्त भाइकाजी तिवारीका अनुसार उपत्यकामा घर निर्माण गर्दा बेसमेन्ट वा भूमिगत तला पार्किङलाई छुट्ट्याउन २०५८ सालदेखि नै विभिन्न नीतिगत प्रोत्साहन गरिएको हो।

'२०६४ सालको मापदण्डमा दुई तलासम्म बेसमेन्ट बनाएर पार्किङको प्रयोजन गर्न पाउने र त्यसो गर्दा थप राजस्व नलाग्ने अनि फार भनिने फ्लोर एरिया रेसियोमा त्यसको गणना नगरिने छूट दिइएको थियो। नक्सा शुल्क पनि छूट थियो,' उनले भने।

तर धेरैले त्यस्तो छूट लिए पनि व्यवहारमा पार्किङलाई प्रयोग नगरेको हुँदा अहिले मेयर बालेन शाहले चालेको कदम उपयुक्त भएको उनी ठान्छन्।

बीबीसीसंग कुरा गर्दै उनले भने, 'बेसमेन्ट मात्र होइन कतिपयले भुइँतल्लामा पनि पार्किङ गराउँछु भनेर नक्सा पास गराएका छन्। तिनलाई पनि खाली गराउनुपर्छ,' उनले भने। तिवारीजस्तै अधिकांश मानिसले उनको कदम र उद्देश्यको खुलेर प्रशंसा गरिरहेका छन्।

आइतबार​ १२ भदौ २०७९ ०७:११ AM मा प्रकाशित

प्रतिक्रिया