×

नारायणी अस्पतालमा तोडफोड र कुटपिटको विरोधमा चिकित्सकद्वारा सामूहिक राजीनामा

images

वीरगन्ज- वीरगन्ज स्थित नारायणी अस्पतालका चिकित्सकहरूले अस्पताल परिसरमा भएको तोडफोड, कुटपिट तथा अभद्र व्यवहारको विरोध गर्दै सामूहिक राजीनामा दिएका छन्। गत साउन ८ गते अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण हुनुका साथै तोडफोड भएको थियो। उक्त घटनाका दोषीलाई कारबाही गर्न माग गर्दा उल्टै प्रहरीबाट दुर्व्यवहार भएको भन्दै आन्दोलित चिकित्सकहरूले प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुख (एसपी) को राजीनामा माग गरेका छन्।

अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार कुल ७० जना चिकित्सक कार्यरत रहेको उक्त अस्पतालका ३० जनाले सोमबार राति मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष राजीनामा पत्र बुझाइसकेका छन् भने बाँकी ४० जनाले पनि हस्ताक्षर सङ्कलन गरी राजीनामा दिने तयारी गरिरहेका छन्।

चिकित्सकहरूले आफ्ना मागहरू अविलम्ब सम्बोधन नभए देशभरका अन्य चिकित्सकहरूले समेत राजीनामा दिने र आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्। यसैबीच, नेपाल चिकित्सक संघले चिकित्सकमाथिको दमनको विरोध गर्दै मङ्गलबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने घोषणा गरेको छ।

मङ्गलबार १२ साउन २०८३ ११:५१ AM मा प्रकाशित

प्रतिक्रिया