×

आईपीएलको उपाधिका लागि आज चेन्नाइ र गुजरात भिड्ने

images

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधिका लागि आज चेन्नाई सुपर किंग्स र गुजरात टाइटन्स भिड्दैछन् । डेब्यु प्रतियोगीतामै उपाधि जितेर अब्बल टिम सावित भएको गुजरात लगातार दोस्रो पटक उपाधि आफ्नो पोल्टामा पार्ने लक्ष्यमा रहेको छ, भने चेन्नाई पाँचौ पटक उपाधि जित्ने लक्ष्यका साथ मैदानमा प्रवेश गर्नेछ ।

यस सिजन गुजरातलाई पहिलो क्वालिफायरमा पराजित गर्दै चेन्नाइले १०औं पटक फाइनलमा स्थान बनाएको हो । चेन्नाइसँग हारे पनि अर्को मौकामा मुम्बइ इन्डियन्सलाई दोस्रो क्वालिफायरमा पराजित गर्दै गुजरातले चेन्नाइसँग फाइनल भेट पक्का गरेको हो । चेन्नाइ ४१ वर्षीय कप्तान महेन्द्रसिंह धोनीको नेतृत्वमा खेल्दैछ भने हार्दिक पाण्ड्याको कप्तानीमा गुजरातले खेल्दैछ ।  

गत आईपीएल सिजनमा लखनऊ र गुजरातबाट दुई नयाँ टोली थपिएका थिए। दुवै प्लेअफमा पुगेपनि गुजरातले उपाधि जितेर सबैलाई चकित बनाएको थियो । यसपटक पनि करिब सोही खेलाडीसहित टोली प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरात उपाधि रक्षा गर्न दबाबमा रहनेछ । टोलीले यो सिजन हालसम्म कुल १६ खेल खेलेको छ (लिग चरण र प्लेअफ), जसमा उसले ११ खेलमा जित र पाँच खेलमा हार बेहोरेको छ।

डेभिड मिलर, राशिद खान, नूर अहमद र जोशुआ लिटल चेन्नईविरुद्ध उत्रने टोलीका ४ सम्भावित विदेशी खेलाडी हुन सक्छन् । यीबाहेक मोहम्मद शामी, शुभमन गिल र हार्दिक पाण्ड्याजस्ता खेलाडी उत्कृष्ट लयमा छन् ।

चेन्नईका लागि धोनीको सबैभन्दा ठूलो चुनौती तीन शतक र ८५१ रन बनाएका गिलको ब्याटबाट रन रोक्नु हुनेछ। मोहम्मद शामी (२८ विकेट), राशिद खान (२७ विकेट) र मोहित शर्मा (२४ विकेट) ले राम्रो प्रदर्शनमा गरेका छन्। योसँगै गिलबाहेक पाण्ड्याले ब्याटिङमा ३२५ रन बनाएका छन् । 

महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्स प्रतियोगिताको सबैभन्दा सफल टोली मध्ये एक हो। टोलीले प्रतियोगितामा मुम्बई (पाँच उपाधि) पछि सबैभन्दा बढी चार उपाधि जितेको छ। टोली १४ सिजन मध्ये १२ मा प्लेअफमा पुगेको छ र १० औँ पटक फाइनल खेल्दै छ।

चेन्नईले यो सिजन हालसम्म खेलेका १५ खेल (लिग चरण र प्लेअफ) मध्ये ९ मा जित र पाँचमा हार बेहोरेको छ। र एक खेल वर्षाका कारण रद्द भएको थियो । टोलीका ४ विदेशी खेलाडी डेभोन कोनवे, मोइन अली, महिश टिक्षाना र मथिश पाथिराना छन् ।

यस सिजन चेन्नईका लागि कोनवेले १३ खेलमा ६२५ रन, ऋतुराज गायकवाडले ५६४ रन र अजिंक्य रहाणेले २९९ रन बनाएका छन् भने शिवम दुबेले ३८६ रन बनाएका छन् । यस आईपीएलमा दुबेले ३३ छक्का प्रहार गरेका छन् । बलिङमा पाथिरानाले १७ र देशपाण्डेले २१ विकेट लिएका छन् ।

आइतबार​ १४ जेठ २०८० १२:४४ PM मा प्रकाशित

प्रतिक्रिया