×

गणतन्त्र दिवसको अवसरमा रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस

images

काठमाडौं । सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीको सजाय माफी दिन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले चौधरीलाई माफीको लागि सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताएकी छन्।

मन्त्रिपरिषद्ले आममाफी र माफीमिनाहासम्बन्धी व्यवस्थाअनुसार १८ जनालाई रिहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । ०७२ भदौ ७ गते कैलालीको टिकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मी र एक जना नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनाका आरोपित चौधरी जेल चलान भएका थिए।

उनलाई जिल्ला अदालत कैलाली, उच्च अदालत दिपायल र सर्वोच्च अदालतले जन्मकैदको सजाय सुनाएको थियो।

जेठ १५ गते मनाइने गणतन्त्र दिवसको अवसरमा कैदी बन्दीको सजाय माफ दिने गरिएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट सजाय माफ हुने संवैधानिक व्यवस्था छ । धारा २७६ मा ‘राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुन बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्नेछ’ भन्ने व्यवस्था छ । यसअघि जेठ १२ गते राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई आममाफीका लागि पठाइएको फाइल कार्यार्थ गृह मन्त्रालयमा पठाइदिएका थिए। 

सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका चौधरीलाई आममाफीका लागि सरकारले पठाएको फाइल उनले रायसुझावसहित गृह मन्त्रालयमा पठाइदिएका थिए। 


 

आइतबार​ १४ जेठ २०८० १२:२० PM मा प्रकाशित

प्रतिक्रिया