काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले संयुक्त रूपमा पत्र पठाएको भनी फैलिएको सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालद्वारा शुक्रवार राति जारी विज्ञप्तिमा भनिएको छ, ‘केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सभापति रवि लामिछाने तथा वरिष्ठ नेता बालेन शाहको संयुक्त हस्ताक्षर भनी मोदीलाई सम्बोधन गरिएको भनिएको पत्र तथा सम्बन्धित समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’
विज्ञप्तिमा उल्लेख छ, ‘सार्वजनिक भएको उक्त पत्र पूर्ण रूपमा नक्कली, किर्ते तथा कपोलकल्पित छ । हामी यसलाई स्पष्ट रूपमा खण्डन गर्दछौँ ।’ रास्वपाले दुई जिम्मेवार नेताको नाम जोडेर परराष्ट्र सम्बन्धजस्तो संवेदनशील विषयमा आधारहीन भ्रम फैलाउनु अत्यन्त निन्दनीय कार्य भएको बताएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक लाभ लिने तथा नेपाल–भारतबीचको सम्बन्धमा खलल पुर्याउने नियतले यस्तो प्रायोजित प्रचार भएको आरोप पनि लगाइएको छ।‘द्विपक्षीय सम्बन्ध तथा सामाजिक सद्भावमा आँच पुग्ने कुनै पनि सामग्रीलाई स्थान नदिन हामी सबैमा आग्रह गर्दछौँ ।’
विज्ञप्तिमा भनिएको छ, ‘आम सर्वसाधारणलाई पनि निर्वाचनको समयमा फैलाइएका यस्ता फेक न्यूज तथा भ्रामक प्रचारको पछि नलाग्न र सचेत रहन अपिल गर्दछौँ।’यस किसिमका अवाञ्छित गतिविधि गर्नेहरूमाथि कानुनी कारबाही अगाडि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको पनि पार्टीले जनाएको छ। ‘सत्य र तथ्यको पक्षमा उभिनु हामी सबैको साझा दायित्व हो ।’
प्रतिक्रिया