काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘धम्क्याएको भरमा खाने’ भनेर कटाक्ष गरेका छन् । आइतबार काठमाडौंमा आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को महाधिवेशनको खुलासत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसरी कटाक्ष गरेका हुन् ।
“एकजना उफ्री-उफ्रीकन भाषण गर्दै थिए, हिजो मात्रै देख्याथेँ । हतियार बिसाको मात्रै हो, भ्रम नरहोस्, चलाउन बिर्स्या छैन रे ! त्यस्तै-त्यस्तै त हामी हुनुभएन नि । धम्काएको भरमा खाने ! तर, हामीलाई हतियार कसरी बिसाउन लगाउनुपर्छ भन्नेचाहिँ हामीलाई थाहा छ । तर, चलाउन हामीलाई आउँदैन,” प्रधानमन्त्री ओलीले भने ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शनिबार आयोजित खबरदारी सभामा आफूहरुले हतियार बिसाएको तर चलाउन नबिर्सेको भन्दै सरकारको नेतृत्व गर्ने दलहरुलाई चेतावनी दिएका थिए । साथै प्रधानमन्त्री ओलीले गैह्रआवासीय नेपाली संघको छविलाई कायम गरी संगठनलाई एकताबद्ध राख्न र ‘राजनीतिक टग अफ वार’ नगर्न आग्रह गरे।
उनले सरकारको तर्फबाट संघलाई कुनै हस्तक्षेप नहुने भएकाले स्वतन्त्ररुपमा काम गर्न आग्रह गर्दै भने, “म अहिले प्रधानमन्त्री छु, म देशको प्रधानमन्त्री हो। एमालेको मात्रै प्रधानमन्त्री होइन। राष्ट्रपति पनि त्यही हो, राष्ट्रपति दल विशेषको हुँदैन, राष्ट्रको प्रमुख हुन्छ। सभामुख, प्रधानन्यायाधीश सबै पद साझा पद हुन्। हामीले त्यस हैसियतले काम गर्ने हो।”
आफू सन् १९९९ तिर मा मस्को जाँदा डा उमेन्द्र लामिछानेसँग गैह्रआवासीय नेपाली अभियानबारे कुरा भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले एनआरएनलाई पहिचान र आवश्यक सुविधान दिन सरकारले कञ्जुस्याईँ नगर्ने पनि स्पष्ट गरे। एनआरएनए दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘पोलिटिकल पार्टीका आफ्नै संगठनहरु होलान्, त्यल्ले आफ्नो काम आफैं गर्ला, यस संगठन भित्र पोलिटिकल ‘टग अफ वार’ नगरौं ।’
एनआरएनएलाई राजनीतिक हस्तक्षेप र प्रयोगबाट बाहिरै राख्नुपर्ने आफूले लामो समयदेखि बताउँदै आएकोसमेत प्रधानमन्त्रीले ओलीले बताए । प्रधानमन्त्री ओलीले गैरआवासीय नेपालीको माग सम्बोधन गर्न संविधानमै गैरआवासीय नागरिकता उल्लेख गरेको बताए । अहिले गैरआवासीय नेपालीले नागरिकताको काम नभएको गुनासो गरेकाले त्यसलाई पनि सम्बोधन गर्ने उनले बताए ।
‘यसको समस्याको समाधान कसरी गर्ने हो म भन्न चाहन्छु तपाईंहरुलाई तपाईंहरुले नै सुझाव गर्नुस्, योयो गरिदिनुस् भनेर, हामी गर्छौं’, उनले भने, ‘हामीलाई यसबाट न सावाँ बढाउनु छ न ब्याज कमाउनुछ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताए ।
प्रतिक्रिया