काठमाडौं ।आज भाद्रकृष्ण औंशी अर्थात् कुशे औंसी पर्व मनाईंदैछ। आज वर्षभरी देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश भित्रयाउने परम्पराका साथ कुशे औँसी मनाइदैछ ।
भाद्र कृष्ण औँशीका दिन आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत पितृप्रति तर्पण, पिण्डदान र श्राद्ध गर्ने भक्तजनको भीड लागेको छ। पितृ तीर्थ धाम एवं उत्तरगया भनेर समेत चिनिने यस स्थलमा आई आज तर्पण, पिण्डदान र श्राद्ध गरे घर, मामाघर र ससुरालीतर्फका २१ पुस्तासम्मका पितृ तर्दछन् भन्ने धार्मिक विश्वास छ।
बाबु जीवित हुने छोरा छोरीले भने आज मीठामीठा कुरा खान एवं राम्रा कपडा लगाउन दिएर मुख हेर्छन्। ‘पितृदेवो भव’ अर्थात् बाबुलाई देवता समान मान भन्ने वैदिक मान्यताअनुसार पितृ सम्मान गरी आजको पर्व मनाइन्छ। यसैगरी आज वर्षभर देव एवं पितृकार्यमा प्रयोग गरिने कुश घर घरमा भित्र्याइन्छ। ब्राह्मण पुरोहितले कुश छेदन गरी जजमानको घर घरमा पुर्याउने परम्परा छ। यसैले आजको दिनलाई कुशे औँशी पनि भनिन्छ।
प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा देशका विभिन्न भाग एवं भारतबाट समेत हजारौँ भक्तजन पितृतृप्तिको कामनाले श्राद्ध गर्न आउने गरेका थिए ।
प्रतिक्रिया