×

डा. मुकुल ढकाल रास्वपाको साधारण सदस्यसमेत नरहने गरी बर्खास्त

images

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई पार्टीको साधारण सदस्यता समेत नरहनेगरी बर्खास्त गरेको छ। मंगलबार बसेको केन्द्रीय समिति बैठकले अनुशासन आयोगको सिफारिस अनुसार, उनलाई पार्टीबाट बर्खास्त गर्ने निर्णय गरेको हो। 

पार्टी अनुशासन आयोगले ढकाललाई कारबाहीका लागि आवश्यक प्रमाणसहित साधारण सदस्यबाट पनि निकाल्नुपर्ने सिफारिस गरेको थियो। पार्टीविरुद्ध लागेको भन्दै निलम्बनमा परेका महामन्त्री ढकाललाई रास्वपाले पटक–पटक स्पष्टीकरण सोधेको थियो। महामन्त्री र प्रवक्ता पदबाट निलम्बन गरेको रास्वपाले स्पष्टीकरणका लागि सुरुमा ३५ दिनको समय दिएको थियो।  त्यसपछि पनि उनलाई पार्टीले दोहोर्‍याएर स्पष्टीकरणको मौका दिएको थियो।

यद्यपि, ढकालले कारबाहीमा परेपछि झनै पार्टीप्रति प्रश्न गर्न नछाडेपछि अन्ततः साधारण सदस्यबाट पनि निकाल्ने निर्णयमा रास्वपा पुगेको हो। पार्टी अनुशासन र आचरण विपरीत गतिविधि गरेको भन्दै रास्वपाले यसअघि ढकालको महामन्त्री र प्रवक्ता पद खोसेको थियो । उनलाई ३५ दिनको समय दिएर प्रस्टीकरणको मौका पनि दिइएको थियो ।

तर त्यसबिचमा  ढकालले निरन्तर पार्टी सभापति रवि लामिछाने‚ उपभापतिद्वय स्वर्णिम वाग्ले र डीपी अर्याल लगायत पदाधिकारी तथा केन्द्रीय नेताहरू विरुद्ध बोलेका थिए । त्यी सबै विषयले पार्टीलाई हानी गरेको निष्कर्ष पार्टी अनुशासन आयोगले निकालेपछि उनलाई साधारण सदस्य पनि राख्न नहुने आवाज उठेको थियो ।

मङ्गलबार ११ भदौ २०८१ ०२:०० PM मा प्रकाशित

प्रतिक्रिया