काठमाडौँ। सुनसरीको देवानगन्ज गाउँपालिका (कप्तानगन्ज क्षेत्र)मा दुई समूहबीच भएको झडप र त्यसपछिको स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद लालविक्रम थापाले गम्भीर चिन्ता व्यक्त गर्दै सुरक्षाकर्मीको भूमिकामाथि प्रश्न उठाएका छन्।
सोमबार बिहान देवानगन्जमा दुई पक्षबीच चर्किएको विवादले उग्र रूप लिएपछि परिस्थिति नियन्त्रणबाहिर जान नदिन भन्दै प्रहरीले गोली चलाएको थियो। प्रहरीको गोली लागेर एक स्थानीय युवकको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
घटनाका विषयमा प्रतिक्रिया दिँदै रास्वपा सांसद् लालविक्रम थापाले सर्वसाधारणको ज्यान जाने गरी बल प्रयोग गरिनु दुःखद् भएको बताए। उनले सुरुमै स्थिति संवेदनशील बन्न नदिन सुरक्षा संयन्त्रले अपनाउनुपर्ने सतर्कतामा कमजोरी देखिएको र घातक बल (घातक हतियार) प्रयोग गर्नुअघि संयमता अपनाउन नसकिएको भन्दै सुरक्षा निकायको कार्यशैलीमाथि प्रश्न उठाएका हुन्।
"नागरिकको जिउधनको सुरक्षा गर्नु राज्य र सुरक्षाकर्मीको प्राथमिक दायित्व हो," सांसद् थापाले भने, "तर स्थिति नियन्त्रणमा लिने नाममा सिधै गोली चलाएर नागरिकको ज्यान लिने अवस्था कसरी सिर्जना भयो? यसमा सुरक्षाकर्मीको भूमिकाको निष्पक्ष छानबिन हुनुपर्छ।"
यसैबीच, घटनापछि क्षेत्रमा थप तनाव सिर्जना भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले कप्तानगन्जसहित आसपासका ५ भन्दा बढी संवेदनशील स्थानहरूमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। कर्फ्युका बाबजुद केही स्थानमा प्रदर्शनकारीहरू सडकमा उत्रिएपछि अवस्थालाई नियन्त्रणमा लिन नेपाली सेनासमेत परिचालन गरिएको छ।
सांसद् थापाले सम्पूर्ण पक्षलाई संयमित हुन र थप हिंसा भड्किन नदिन अपिल गर्दै घटनाको उच्चस्तरीय र निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न तथा मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन्।
प्रतिक्रिया