काठमाडौँ । एशियन क्रिकेट काउन्सिलले एशिया कपको तालिका सार्बजनिक गरेको छ । युएईमा एशियाका ८ देशका पुरुष टिमबीच ९ सेप्टेम्बरदेखि २८ सेप्टेम्बरसम्म हुने भएको छ ।
प्रतियोगितामा भारत र पाकिस्तानबीचको समूह खेल सेप्टेम्बर १४ आइतबार दुबई अन्तर्राष्ट्रिय रंगशालामा खेलिने भएको छ । प्रतियोगितामा भारत र पाकिस्तानका टोलीहरू एउटै समूहमा छन्। भारत, पाकिस्तान, युएई र ओमानलाई समूह ए मा राखिएको छ भने श्रीलंका, बंगलादेश, अफगानिस्तान र हङकङ समूह बी मा रहेका छन् ।
यस १९ खेलको प्रतियोगिताको लागि एसीसीले १७ सदस्यीय टोलीहरूलाई अनुमति दिनेछ । खेलहरू दुबई र अबुधाबीमा खेलिनेछन् ।
जुलाई २४ मा एसीसीको बैठकमा एशिया कपको लागि स्थल तय गरिएको थियो । बैठकमा सबै २५ सदस्य राष्ट्रहरूले भाग लिएका थिए ।
यस प्रतियोगिताको आयोजक भारतीय क्रिकेट कन्ट्रोल बोर्ड भएपनि भारत र पाकिस्तान बीचको तनावका कारण दुवै देशले २०२७ सम्म तटस्थ स्थानमा मात्र खेल खेल्न पारस्परिक रूपमा सहमति जनाएकाले प्रतियोगिता संयुक्त अरब इमिरेट्समा आयोजना भइरहेको छ ।
एसिया कपको यो संस्करण टी-२० ढाँचामा आयोजना हुनेछ । अर्को आईसीसी प्रतियोगिता भारत र श्रीलंकामा हुने टी-२० विश्वकप भएकोले, परम्परा अनुसार, यस पटक एसिया कप टी-२० ढाँचामा खेलिनेछ ।
प्रतिक्रिया