×

कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुद फेरि सर्‍यो , ६ खेल संघ निलम्बन

images

काठमाडौं । कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीबार बसेको १२१ औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरेको हो ।

यसअघि राखेपको ११८औं बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद २०८१ साल चैत २३ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको थियो । बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद २०८२ साल जेठ १७ देखि २१ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ ।

खेलकुदमन्त्री तेजलाल चौधरीले भने, ‘राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकबाट २०८२ साल जेठ ३ देखि १० गतेसम्म हुने निर्णय गरेका हौं । अब यही मितिमा हुन्छ दशौँ राष्ट्रिय खेलकुद । तपाई ढुक्क हुनुस् ।’

यसअघि कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट माघ ३ गते पारित भएको गरिएको थियो । त्यतिबेला कर्णाली प्रदेशमा आयोजना हुने उक्त प्रतियोगिता आगामी चैतमा हुने तय भएको थियो । 

साथै  मन्त्री चौधरीको अध्यक्षतामा बिहीबार बसेको १२१औँ बोर्ड बैठकले नेपाल ओलम्पिक कमिटीको अवैधानिक निर्वाचनमा सहभागी ६ राष्ट्रिय खेल संघलाई निलम्बन गर्ने निर्णय गरेको राखेपले जनाएको छ ।

निलम्बन पर्नेमा राष्ट्रिय खेल संघहरू नेपाल ब्याडमिन्टन संघ, नेपाल टेनिस संघ, नेपाल साइक्लिङ संघ, नेपाल एथलेटिक्स संघ, नेपाल जिम्न्याष्टिक संघ र नेपाल भारोत्तोलन संघ रहेका छन् ।

राखेप कार्यकारी समितिको बैठकले उक्त ६ खेल संघलाई कारवाही स्वरूप निलम्बन गर्न सिफारिस गरेको थियो । त्यही सिफारिसलाई राखेप बोर्ड बैठकले अनुमोदन गरेको हो ।

बिहीबार १५ फागुन २०८१ ०८:२६ PM मा प्रकाशित

प्रतिक्रिया