काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र लाइसेन्स सम्बन्धी भ्रष्टाचार प्रकरणमा अनुसन्धान गर्दै यातायात व्यवस्था कार्यालय चाबहिलमा छापा मारेको छ। आयोगका अनुसार लाइसेन्सको लिखित परीक्षामा अनुतीर्ण भएका सेवाग्राहीहरूलाई बिचौलियामार्फत खोजी गरी तोकिएको अवधि नपुग्दै पुनः परीक्षामा सहभागी गराउने र त्यसबापत रकम असुल गर्ने गरिएको सूचनाको आधारमा छानबिन सुरु गरिएको हो । यस क्रममा आयोगले कार्यालय प्रमुखसहित विभिन्न व्यक्तिका मोबाइल फोन र कागजातहरू बरामद गरेको जनाएको छ।
अख्तियारका अनुसार कार्यालय प्रमुख अधिकृत पेशल कुमार पोखरेलसहित यातायात व्यवस्था कार्यालय चाबहिलमा कार्यरत १७ जना कर्मचारीका २५ थान मोबाइल फोन बरामद गरिएको छ। साथै उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, काठमाडौंबाट ड्युटीमा खटिएका प्रहरी सहायक निरीक्षक डोरहरि नेपालसहित तीन जनाका तीन थान मोबाइल फोन पनि जफत गरिएको छ।
त्यस्तै, नेपाल ड्राइभिङ एण्ड रिकन्डिसन सेन्टर प्रालिका मेनेजर बालकृष्ण सिंहसहित सात जनाबाट एक थान मोबाइल फोन बरामद गरिएको आयोगले जनाएको छ। आयोगले लिखित परीक्षा दिई अनुतीर्ण भएको मितिले तीन महिना अवधि नपुग्दै पुनः परीक्षामा सहभागी भएका परीक्षार्थीका उत्तरपुस्तिकासहितका कागजातहरू समेत जफत गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
प्रतिक्रिया