×

 नेकपा माओवादी केन्द्रको आज काठमाडौंमा जनप्रदर्शन र खबरदारी सभा, यस्तो छ तयारी

images

काठमाडौं ।  नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा जनप्रदर्शन र खबरदारी सभा गर्दैछ । माओवादीले आज दिउँसो सरकारका गलत कदमको विरोध र गर्नुपर्ने काम लागि ध्यानाकर्षण गराउन काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा प्रदर्शनसहित खबरदारी सभा गर्न लागेको हो ।

विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताको कारण बेपत्ताहरूको खोजी, राहत वितरण, घाइतेहरूको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधानका लागि माओवादीले खबरदारी गर्न लागेको जनाएको छ ।

यस्तै, यसअघि माओवादी केन्द्र नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निस्तेज पार्न खबरदारीसभा गर्न लागेको माओवादीले बताएको छ । 

११ बजे काठमाडौँ मलमा जम्मा हुन नेता तथा कार्यकर्ताहरू निर्देशन दिएको छ । त्यहाँबाट बाजा, झाँकीसहित ब्यानरको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पदाधिकारीले गर्नेछन् । जुलुस भद्रकाली, सहिद गेट हुँदै काठमाडौँ मलमा जम्मा हुनेछ । सबै जम्मा भएपछि रत्नपार्क, बागबजार, प्रदर्शनी मार्ग हुँदै भृकुटीमण्डपमा आएर खबरदारी सभामा परिणत हुने अध्यक्ष सिंखडाले जानकारी दिए । उनका अनुसार अध्यक्षसहित पदाधिकारी, प्रदेशका अध्यक्षहरू ब्यानरमा रहनेछन् । झण्डा, व्यानहरूको सबै तयारी पुरा भइसकेको छ । 

‘जनप्रदर्शनको लगभग सबै तयारी पुरा भएको छ । बाहिरबाट धेरै जुलुस ल्याउँदा सर्वसाधारणलाई अप्ठ्यारो हुने । ट्राफिक जाम हुने समस्या हुने भएकाले यसपटक फरक तरिकाले विरोध गर्न लागिएको छ । मलमा जम्मा भएर झाँकी, बाजागाजासहित अगाडि बढ्छौँ । जनताको समस्यालाई हेरेर फरक र रचनात्मक गराउन खोज्दै छौँ’, तयारीबारे जनाकारी दिँदै उनले भने ।

जुलुस बागबजार, प्रदर्शनी मार्ग हुँदै १२ः ३० मा भृकुटीमण्डपमा विरोध सभामा परिणत हुने सिंखडाले जानकारी दिए । करिब २ घण्टामा कार्यक्रम सकिने उनले जानकारी दिए । जुलुसमा उपत्यका भित्रबाट मात्र नेता कार्यकर्ता सहभागी हुनेछन् । उपत्यका बाहिरबाट कम सहभागी हुने सिंखडाले जानकारी दिए । 

सभामा करिब २५ देखि ३० हजारसम्म सहभागी हुने आकलन गरिएको छ । कांग्रेस र एमाले मिलेर असारमा सरकार बनाएपछि माओवादी सत्ताबाट बाहिरिएको थियो । ओली नेतृत्वको गठबन्धन सरकार पश्चगामी भएको भन्दै माओवादीले देशभर आन्दोलन चर्काउने तयारी गरेको छ । 

शनिबार १० कात्तिक २०८१ १०:४२ AM मा प्रकाशित

प्रतिक्रिया