×

ओली सरकार दलाल पुँजीपति व्यापारी र माफियाको हो - उपाध्यक्ष सापकोटा

images

काठमाडौँ ।  नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले पछिल्लो समय देशलाई भ्रष्टाचारको दलदलमा फसाएर ओली सरकार देशको अस्तित्व मेट्न लागिरहेको दाबी गरेका छन्। शनिबार काठमाडौँमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा उपाध्यक्ष सापकोटाले देशमा विचार निर्माण र जनताको दुःखबाट बचाउनका लागि माओवादी केन्द्र सधैँ तत्पर रहेको जिकिर गरे। 

‘भ्रष्टाचार भनेको कुनै पैसाको कुरा होइन। भ्रष्टाचार भनेको राष्ट्रिय सुरक्षा हो, राष्ट्रियता हो। भ्रष्टाचारले आक्रान्त हुँदै राष्ट्रलाई कमजोर पार्दै अहिले हाम्रो महान गौरवशाली मातृभूमि नेपाललाई भ्रष्टाचारको दलदलमा फसाएर देशको अस्तित्व मेट्न लागिरहेका छन्,’ सापकोटाले भनेका छन्। 

साथै, उनले माओवादीले अहिले विचार निर्माण, रुपान्तरण र शुद्धिकरणको अभियानमा काम गरिरहेको बताए। ‘पार्टीलाई एकतावद्ध गर्दै तीन करोड नेपाली जनतालाई विश्वासमा लिँदै अघि बढ्ने हो भने नेपाली जनताको समाजवाद स्थापना गर्ने कुरा स्थापित भइछाड्ने छ,’ उनले भने, ‘यो सभा हाम्रो पार्टीका लागि रुपान्तरण, यो शुद्धिकरण हो। आन्दोलनको पनि शुद्धिकरण हो। हामी एक एक गरी व्यवहारबाट यो सावित गर्नेछौँ।’

उनले आवश्यक परेको खण्डमा माओवादीले सधैँ विपद्को भूमरीबाट देशलाई बचाउन लागिपरेको पनि बताए। ‘त्यसकारण अब विकल्प छैन। यो देशमा विचारको निर्माण र आवश्यक पर्दा देशका जनतालाई विपद्को भूमरीबाट बचाउनका लागि हामी माओवादीहरू तयार छौँ। त्यसका लागि हामीले अहिले महाअभियान सुरु गरेका छौँ,’ उनले भने।

साथै सरकार नेपाली जनताको नभएर सीमित दलाल पुँजीपति व्यापारी र माफियाको भएको बताए । माओवादी जिम्मेवार प्रतिपक्षी दल र युग परिवर्तनमा भूमिका खेलेको पार्टी भएका कारण जनताको विपत्तिमा टुलुटुलु हेरेर बस्न नसक्ने बताए । 

असोज ७ गतेदेखि मौसम विभागले दिएको सूचनालाई सरकारले बेवास्ता गरेका कारण देशमा ठुलो जनधनको क्षति भएको बताए । उनले पटक पटक संसद् विघटन गर्ने पार्टीले लोकतन्त्रको दुहाई दिन नसुहाउने भन्दै फेरि दल फुटाउन अध्यादेश ल्याउन खोजेको भन्दै आपत्ति जनाए । उनले अहिले सरकारलाई काठमाडौँबाट खबरदारी गरे पनि सरकारले सुनेन भने देशव्यापी रूपमा खबरदारी गर्न तयार रहेको उल्लेख गरे । सरकारले भ्रष्टाचारी र बिचौलियालाई संरक्षण गरेको बताए ।

शनिबार १० कात्तिक २०८१ ०२:४० PM मा प्रकाशित

प्रतिक्रिया