काठमाडौं । इजरायलले शनिबार बिहान इरानको सैन्य इलाकामा हमला गरेको छ । इरानी मिडियाले राजधानी तेहरान र नजिकैका आधारहरूमा धेरै विस्फोटहरू भएको रिपोर्ट गरिरहेका छन् ।
अक्टोबर १ मा इरानले गरेको ब्यालेस्टिक मिसाइल आक्रमणको जवाफमा शनिबार इजरायलले पनि आक्रमण गरेको हो । इरानले इजरायलमाथि करिब २०० मिसाइलहरू प्रहार गरेको थियो । इजरायलले लेबनानमा इरानको समर्थन रहेको हिजबुल्लाहको शीर्ष नेतृत्वको हत्या गरेपछि आक्रमण गरेको हो ।
‘इजरायलविरूद्ध इरानबाट महिनौंको निरन्तर आक्रमणको प्रतिक्रियामा अहिले इजरायल रक्षा बलहरूले इरानका सैन्य लक्ष्यहरूमा सटीक हमला गरिरहेको छ,’ इजरायलको सेनाले एक विज्ञप्तिमा भनेको छ । साथै इराकले आफ्नो सबै विमानस्थल बन्द गरेको छ । छिमेकी इरानमा इजरायली सेनाले गरिरहेको सैन्य कारबाहीलाई ध्यानमा राख्दै देशको हवाई क्षेत्र बन्द गरिएको इराकका यातायात मन्त्रीले बताएका छन् ।
इजरायलले इरानमाथि हवाई आक्रमण सुरु गरेको छ । इरानको पश्चिमी सीमा इराकसँग जोडिएको छ । क्षेत्रीय तनावलाई ध्यानमा राख्दै नयाँ सूचना जारी नभएसम्म देशका सबै विमानस्थलको सम्पूर्ण हवाई यातायात र सेवा बन्द गरिएको इराकको सरकारी मिडिया एजेन्सी आईएनएलाई उद्धृत गर्दै रोयटर्सले एउटा समाचारमा लेखेको छ ।
इजरायली हवाई आक्रमण स्थानीय समय अनुसार बिहान ५ बजेसम्म तेहरानमा जारी रहेको एक इजरायली अधिकारीले बीबीसीको अमेरिकी सम्बद्ध सीबीएस न्यूजलाई बताएका थिए । समाचार एजेन्सी रोयटर्स र एएफपीले सिरियाली सरकारी मिडिया सानालाई उद्धृत गर्दै सिरियाको राजधानी दशमिक नजिकै विस्फोटको आवाज पनि सुनिएको बताएको छ ।
सानालाई उद्धृत गर्दै रोयटर्सले उक्त हमलाले मध्य र दक्षिणी सिरियामा रहेका सैन्य लक्ष्यहरूलाई लक्षित गरेको बताएको छ । साथै अमेरिकी रक्षा विभागको मुख्यालय पेन्टागनले इरानमा इजरायलले गरेको हवाई हमलामा अमेरिका संलग्न नभएको स्पष्टीकरण दिएको छ।
बीबीसीका अनुसार इजरायलले इरानविरुद्ध हवाई आक्रमण सुरु गरेको छ। पेन्टागनले भनेको छ- इजरायलले हामीलाई आक्रमणबारे पहिले नै जानकारी दिएको थियो। साथै अमेरिकाका राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई पनि यस विषयमा जानकारी गराइएको छ। एक अमेरिकी अधिकारीले बीबीसीको अमेरिकी समाचार साझेदार सीबीएसलाई भने- राष्ट्रपतिलाई इजरायली हवाई हमलाबारे जानकारी दिइएको थियो र उहाँले घटनालाई नजिकबाट नियालिरहनुभएको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार उपराष्ट्रपति कमला ह्यारिसलाई पनि इरानमा इजरायली आक्रमणबारे जानकारी गराइएको छ र उनले पनि यस विषयमा नजिकबाट नजर राखिरहेकी छन्। इरानमा गरिएको हवाई हमलाका सन्दर्भमा इजरायली सेनाले इरानको सैन्य लक्ष्यमा सटिक आक्रमण गरिरहेको बताएको छ। यसैबीच, इरानको सरकारी मिडियाले राजधानी तेहरानमा ठूलो विस्फोटको आवाज सुनिएको बताएको छ।
आक्रमणको कारणबारे बताउँदै बीबीसी मध्यपूर्व क्षेत्रका सम्पादक सेबास्टियन शरले इरानमा इजरायलको आक्रमण बदला हुनसक्ने उल्लेख गरेका छन्। सेबास्टियन अशरका अनुसार इरानले एक महिनाअघि इजरायलमा २०० ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो। इजरायली आक्रमण त्यसको जवाफ हो।
प्रतिक्रिया